Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – व्यस्त दिनचर्या, कार्यालयको दबाब, पारिवारिक जिम्मेवारी, आर्थिक चिन्ता तथा मानसिक दबाबका कारण धेरै व्यक्तिले अनजानमै शरीरमा अतिरिक्त भार वहन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा शरीरका मांसपेशीहरू स्वाभाविक रूपमा कडा हुन्छन् जसले थकान बढाउने, टाउको दुख्ने, निद्रा नलाग्ने, चिडचिडापन हुने र चिन्ता थपिने समस्या निम्त्याउन सक्छ । विज्ञहरूका अनुसार तनावको असर केवल मानसिक रूपमा होइन, शारीरिक रूपमा पनि स्पष्ट देखिन थाल्छ । यस्तो बेलामा शरीरलाई सहज बनाउन मद्दत गर्ने अभ्यासमध्ये एउटा सरल र प्रभावकारी उपाय हो मांसपेशी शिथिलिकरण विधि ।

यो विधि रिल्याक्सेसन अभ्यासहरूको प्रतिनिधि तरिकामध्ये एक मानिन्छ । जब हामी तनाव वा चिन्तामा हुन्छौं, तब थाहा नपाई शरीरका कुनै न कुनै भागमा अनावश्यक रूपमा बल लाग्छ । जापानमा यसलाई सामान्य भाषामा ‘काँधमा बल पर्छ‘ भनेर व्यक्त गरिन्छ । तर शरीरका मांसपेशीमा तनाव जम्ने कुरा जापान वा कुनै एक देशको मात्र नभई संसारभर सामान्य समस्या हो । मांसपेशीमा परेको अनावश्यक बल हटाउन सकिएमा शरीर हलुका हुन्छ, मन शान्त हुन्छ र तनाव तथा चिन्ताको सामना गर्न सहज हुन्छ ।

तर व्यवहारमा ‘बल नलगाऊ‘ भनेर मात्र भन्नु वा सोच्नु पर्याप्त हुँदैन । धेरै मानिसले चाहँदैमा आफ्नो तनाव तुरुन्त हटाउन सक्दैनन् । यही कारण तनाव लामो समयसम्म कायम रहन्छ । यस्तो अवस्थालाई ध्यानमा राख्दै विकसित गरिएको अभ्यास विधि हो पहिले मांसपेशीलाई केही क्षण बलियोसँग कसेर राख्ने, त्यसपछि एक्कासि छोड्ने तरिका । यसले शरीरलाई स्पष्ट रूपमा ‘कसिएको र खुलेको‘ महसुस गराउँछ जसले गर्दा मांसपेशीलाई सहज अवस्थामा फर्काउन सहयोग गर्दछ ।

यो विधिलाई अमेरिकी चिकित्सक तथा फिजियोलोजी विशेषज्ञ जेकबसनले व्यवस्थित रूपमा विकास गरेका हुन् । यसलाई अंग्रेजीमा Progressive Muscle Relaxation (PMR) भनिन्छ । सरल र सजिलै सिक्न सकिने भएकाले यो अभ्यास तनाव व्यवस्थापनका लागि विश्वभर लोकप्रिय मानिन्छ ।

कसरी गर्ने मांसपेशी शिथिलिकरण अभ्यास ?

यो अभ्यास गर्नका लागि शान्त वातावरण आवश्यक हुन्छ । कुर्सीमा आरामसँग बसेर वा ओछ्यानमा पल्टेर पनि गर्न सकिन्छ । अभ्यास सुरु गर्दा आफ्नो शरीर सहज अवस्थामा राख्नु महत्वपूर्ण हुन्छ ।

सबैभन्दा पहिले, बिस्तारै सास फेर्दै दुबै हातलाई करिब ५ सेकेन्डसम्म बलियोसँग कस्ने । त्यसपछि एक्कासि बल छोड्ने । बल छुटेपछि हात हलुका, ढिलो–ढिलो न्यानो र आराम भएको अनुभूतिमा करिब १० सेकेन्ड ध्यान दिने । यही प्रक्रिया क्रमसँग शरीरका अन्य भागमा पनि दोहोर्‍याउन सकिन्छ, जस्तै हात, काँध, अनुहार, खुट्टा लगायतका भागहरूमा ।

विशेषज्ञहरूका अनुसार यो अभ्यास गर्दा ‘दुख्ने गरी‘ बल लगाउनु आवश्यक हुदैन । करिब ७० प्रतिशत जति बल लगाए पुग्छ । यसरी नियमित रूपमा अभ्यास गर्दा मांसपेशीको कडापन कम हुँदै जान्छ र शरीरलाई आराम महसुस हुन्छ जस्ले गर्दा मानसिक स्वास्थ्यमा पनि सुधार गर्दछ । तनाव व्यवस्थापनको लागि यस अभ्याससँग सम्बन्धित भिडियो सामग्री पनि इन्टरनेटमा सजिलै उपलब्ध छन् । 

(प्रा. डा. खाचुदा खान्साइ युनिभर्सिटी अफ सोसल वेल्फेयर इण्डष्ट्रियलका हेल्थ कल्सल्ट्यान्ट हुन्)

तपाईको प्रतिक्रिया