टोकियो – जापानको यातायात मन्त्रालयले आगामी अप्रिलदेखि विमानको क्याबिनभित्र मोबाइल ब्याट्री (पावर बैंक) को प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । विमानभित्र लिथियम-आयन ब्याट्रीहरूमा आगलागी हुने वा धुवाँ निस्कने जस्ता जोखिमपूर्ण घटनाहरू बढेपछि हवाई सुरक्षालाई मध्यनजर गर्दै सरकारले यस्तो कदम चाल्न लागेको हो ।
नागरिक उड्डयन ऐन अन्तर्गत जारी गरिने नयाँ निर्देशिकाअनुसार यात्रुहरूले अब विमानभित्र आफ्नो स्मार्टफोन वा अन्य कुनै पनि उपकरण चार्ज गर्न पावर बैंक प्रयोग गर्न पाउने छैनन् । साथै, विमानको सिटमा उपलब्ध पावर आउटलेट (प्लग) बाट पावर बैंक चार्ज गर्न पनि रोक लगाइनेछ । नयाँ नियमले एक यात्रुलाई बढीमा दुईवटा मात्र पोर्टेबल चार्जर साथमा लैजान अनुमति दिनेछ ।
पछिल्लो समय विमानभित्र पावर बैंकका कारण सुरक्षा चुनौती थपिएका छन् । गत जनवरीमा दक्षिण कोरियाको बुसानमा उड्न लागेको विमान र सेप्टेम्बरमा जापान एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा मोबाइल ब्याट्रीकै कारण धुवाँ निस्कने र आगलागीका घटना भएपछि मन्त्रालयले यो कडाइ गरेको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पनि यस विषयमा विश्वव्यापी नियमनबारे अध्ययन गरिरहेको छ । केही विदेशी वायुसेवा कम्पनीहरूले यसअघि नै यस्तो प्रतिबन्ध लागू गरिसकेका छन् । यो नियम जापानका सबै आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरूमा लागू हुनेछ ।








