Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो — अर्को चरणको अमेरिकी मध्यस्थतामा हुने वार्ता अझै अनिश्चित रहँदा रुसले बिहीबार बिहान युक्रेनका विभिन्न शहरहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत व्यापक आक्रमण गरेको छ। यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोक्ने वार्तामा रुस “हिच्किचाइरहेको” बताएका छन् ।

जेलेन्स्कीका अनुसार वासिङ्टनले अर्को साता मियामी वा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रुस र युक्रेनबीच थप वार्ता गर्ने प्रस्ताव राखेको छ । यसअघि पनि अबुधाबीमै वार्ता भएको थियो । उनले युक्रेनले उक्त प्रस्तावमा तत्काल सहमति जनाए पनि रुसको तर्फबाट अझै स्पष्ट प्रतिक्रिया नआएको बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ता छिट्टै हुने संकेत गरे पनि विस्तृत जानकारी दिएका छैनन् । अमेरिकी अधिकारीहरूले भने नयाँ वार्ताबारे औपचारिक प्रतिक्रिया जनाएका छैनन् । जेलेन्स्कीका अनुसार अमेरिका दुवै पक्षलाई जुन महिनासम्म सम्झौता गर्न समयसीमा दिएको छ ।

रुसको आक्रमणले चौथो वर्षमा प्रवेश गर्न लाग्दा दुवै देशबीचका मुख्य विवादहरू समाधान हुन सकेका छैनन् । विशेषगरी डोनबास क्षेत्रसहित कब्जामा रहेका युक्रेनी भूभागको स्वामित्व र थप भूभाग समर्पण गर्नुपर्ने मस्कोको माग मुख्य अवरोध बनेको छ ।

युक्रेनले भने युरोपेली संघमा प्रवेशको स्पष्ट मिति सहित पश्चिमी देशहरूको सुरक्षा ग्यारेन्टी र युद्धपछिको पुनर्निर्माण योजनाको सुनिश्चितता भएपछि मात्र सम्झौतामा सहमत हुन सक्ने जनाएको छ ।

यसैबीच रुसले आवासीय क्षेत्र तथा विद्युत पूर्वाधारमा आक्रमण जारी राखेको छ । जेलेन्स्कीका अनुसार ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने अमेरिकी प्रस्तावमा पनि मस्कोले प्रतिक्रिया दिएको छैन । संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नागरिक पूर्वाधारमा आक्रमण नगर्न रुसलाई आग्रह गर्दै यस्तो कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविरुद्ध हुने स्मरण गराएका छन् ।

युक्रेनी वायुसेनाका अनुसार बुधबार रातिदेखि बिहीबार बिहानसम्म रुसले २१९ वटा लामो दूरीका ड्रोन, २४ वटा ब्यालिस्टिक मिसाइल र एउटा निर्देशित विमान मिसाइल प्रहार गरेको थियो । किभ, खार्किभ, डिनिप्रो र ओडेसा मुख्य निशानामा परेका थिए ।

डिनिप्रोमा भएको आक्रमणमा ४ वर्षीया बालिका र नवजात शिशुसहित चार जना घाइते भएका छन् । किभमा केही आवासीय भवन क्षतिग्रस्त हुँदा दुई जना घाइते भएका छन् भने ओडेसामा एक व्यक्तिलाई चोट लागेको छ । त्यहाँको एक आवासीय भवन आंशिक रूपमा ध्वस्त हुनुका साथै बजार र सुपरमार्केटमा आगलागी भएको छ ।

किभमा तापक्रम शून्य डिग्रीभन्दा माथि पुगे पनि अझै अत्यधिक चिसो रहेको छ । युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाका अनुसार किभमा २,६०० भन्दा बढी भवनमा ताप सेवा अवरुद्ध भएको छ, जसमा पहिले नै प्रभावित १,१०० भवन थपिएका छन् । ओडेसामा झण्डै ३ लाख मानिस खानेपानीबाट वञ्चित भएका छन् भने डिनिप्रोमा करिब १० हजार मानिसको केन्द्रीय हीटिङ प्रणाली बन्द भएको छ ।

युक्रेनले पनि प्रतिकार गर्दै रुसका सैन्य र तेल पूर्वाधारहरूमा लामो दूरीका आक्रमण गरिरहेको छ । युक्रेनी सेनाका अनुसार देशमै विकसित ड्रोनले रुसको कोमी क्षेत्रस्थित उख्ता तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ, जुन युक्रेनको सीमाबाट करिब १,७५० किलोमिटर टाढा पर्छ । यति टाढासम्म युक्रेनी ड्रोन पुगेको यो पहिलो घटना भएको सुरक्षा स्रोतले जनाएको छ ।

यसैगरी फ्लामिङ्गो नामक लामो दूरीको मिसाइलले भोल्गोग्राद क्षेत्रमा रहेको रुसको ठूलो सैन्य भण्डारण स्थलमा प्रहार गरी ठूलो विस्फोट गराएको छ । ताम्बोभ क्षेत्रमा रहेको मिचुरिन्स्क प्रोग्रेस प्लान्टमा पनि आगलागी भएको युक्रेनी सेनाले जनाएको छ । यसअघि पनि युक्रेनले भोल्गोग्रादको तेल प्रशोधन केन्द्रमा क्षति पुर्‍याएको पुष्टि गरेको छ ।

यसैबीच ह्वाइट हाउसले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको सहयोगमा युद्धका कारण छुट्टिएका केही युक्रेनी र रूसी बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको जनाएको छ । चारदेखि १५ वर्ष उमेर समूहका पाँच बालबालिका युक्रेनमा परिवारसँग पुनर्मिलन भएका छन् भने एक बालक रुस फर्किएको छ ।

क्रेमलिनकी बाल अधिकार आयुक्त मारिया ल्भोभा-बेलोभामाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनबाट बालबालिका जबर्जस्ती सारिएको आरोपमा युद्ध अपराधको अभियोग लगाएको छ । यो तेस्रो पटक हो, जब अमेरिकी प्रथम महिलाको संलग्नतामा बालबालिकाको पुनर्मिलन भएको हो। ***

तपाईको प्रतिक्रिया