टोकियो – जापानको यातायात मन्त्रालयले विदेशी पर्यटकहरूको तीव्र आगमनका कारण विमानस्थलहरूमा बढ्दै गएको भीडभाड कम गर्न विशेष अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ । ‘ओभरटुरिज्म’ (अत्यधिक पर्यटन) का कारण सिर्जित समस्यालाई सम्बोधन गर्दै यात्रुहरूका लागि सहज यात्रा वातावरण निर्माण गर्न सरकारले यो कदम चाल्न लागेको हो ।
मन्त्रालयले विशेष गरी विमानस्थलका ‘प्यासेन्जर वाकवे’ (पैदल मार्ग) विस्तार गर्न र ब्यागेज कन्भेयर बेल्टहरूको संख्या बढाउन आर्थिक सहयोग गर्ने तयारी गरेको छ । यस पहलले विमानस्थलमा यात्रुहरूले भोग्नुपर्ने लामो पर्खाइ र सुरक्षा जाँचका लाइनहरूलाई उल्लेख्य रूपमा कम गर्ने अपेक्षा गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०२६ को बजेट प्रस्तावमा यस कार्यक्रमका लागि २.८८ अर्ब येन विनियोजन गरेको छ । यो अनुदान मुख्यतया आन्तरिक वायुसेवा कम्पनी, विमानस्थल टर्मिनल सञ्चालक र विमानस्थल व्यवस्थापन गर्ने स्थानीय सरकारहरूलाई प्रदान गरिनेछ । नियमअनुसार, टर्मिनल भवनहरूको क्षमता सुदृढीकरण र भीड व्यवस्थापनका लागि लाग्ने कुल लागतको आधा हिस्सा सरकारले अनुदान स्वरूप बेहोर्नेछ ।
विमानस्थल भित्रको भीड मात्र नभई, बाह्य पहुँचलाई समेत सहज बनाउन सरकारले जोड दिएको छ । अनुदानको रकम विमानस्थलका बस टर्मिनलहरूको सुधार, विस्तार र यात्रुहरूलाई गन्तव्यसम्म पुग्न मार्गदर्शन गर्ने ‘डिजिटल साइनेज’ (विद्युतीय सूचना बोर्ड) जडान गर्न समेत उपयोग गरिनेछ । यसले गर्दा पर्यटकहरूले विमानस्थलबाट सार्वजनिक यातायातमा सजिलै र द्रुत रूपमा स्थानान्तरण हुन पाउनेछन् ।
यो कार्यक्रम विमानस्थलको ग्राउन्ड अपरेसन, जस्तै विमानको मार्गनिर्देशन र ब्यागेज ह्यान्डलिङमा समेत केन्द्रित हुनेछ । अत्याधुनिक उपकरणहरूको प्रयोगमार्फत सञ्चालन दक्षता बढाउनुका साथै ब्यागेज व्यवस्थापन क्षेत्रमा एयर कन्डिसनिङ प्रणाली जडान गरी कर्मचारीहरूको कार्यस्थल वातावरणमा सुधार ल्याउने लक्ष्य पनि मन्त्रालयले राखेको छ ।








