Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानका ‘कन्भिनिएन्स स्टोर’ (सुविधा पसल) हरूमा विदेशी विद्यार्थीहरू अपरिहार्य बन्दै गएका छन् । तर, जापानको विद्यमान आवासीय प्रणालीका कारण यी दक्ष र लगनशील विद्यार्थीहरूले अध्ययन पूरा गरेपछि पनि ती स्टोरहरूमा पूर्णकालीन कर्मचारी वा स्टोर म्यानेजर जस्ता माथिल्लो ओहोदामा काम गर्न पाउने बाटो भने अझै बन्द छ ।

हालैका वर्षहरूमा जापानमा नेपाली विद्यार्थीहरूको संख्या ह्वात्तै बढेको छ । तथ्याङ्क अनुसार सन् २०२४ मा नेपाली विद्यार्थीको संख्या ७१.१ प्रतिशतले बढेर ६४ हजार ८ सय १६ पुगेको छ, जुन चिनियाँ विद्यार्थीपछि दोस्रो ठूलो संख्या हो । जापानका तीन ठूला स्टोर चेनहरू- फेमिली मार्ट, सेभेन-इलेभेन र लसनमा काम गर्ने विदेशीहरूमा नेपालीहरू नै सबैभन्दा बढी छन् ।

नेपालमा शिक्षक पेशा छाडेर जापान पुगेकी २३ वर्षीयाअमृता पौडेल यसको एक प्रतिनिधि पात्र हुन् । सूचना प्रविधि अध्ययनरत उनी भन्छिन्, ‘जापान सुरक्षित छ र यहाँ सिक्नका लागि धेरै कुरा छन् । स्टोरमा काम गर्दा जापानी भाषा र सञ्चार शैली सुधार्न ठूलो मद्दत पुग्छ ।’

टोकियोका स्टोर सञ्चालक शोइची मात्सुमोतोका अनुसार, पछिल्लो समय जापानी युवाहरू स्टोरको काममा आकर्षित हुन छाडेका छन् । ‘विदेशी विद्यार्थीहरू अत्यन्तै मेधावी र अनुशासित छन्,’ उनी भन्छन् । एकजना नेपालीले काम राम्रो पाएपछि आफ्ना साथीभाइ र आफन्तलाई पनि सोही ठाउँमा काम लगाउने गरेकाले विगत तीन वर्षदेखि कर्मचारी भर्नाका लागि विज्ञापनमा एक पैसा पनि खर्च गर्नुपरेको छैन

स्टोरहरूमा कामको चाप बढी हुनु तर ज्याला (करिब १,२६८ येन प्रतिघण्टा) अन्य क्षेत्रको तुलनामा कम हुनुले जापानीहरू यो कामबाट टाढिँदै गएका छन् । अर्कोतर्फ, जापानको ‘स्पेसिफाइड स्किल्ड वर्कर’  प्रणालीमा कन्भिनिएन्स स्टोर क्षेत्र सूचीकृत छैन । यसले गर्दा विदेशी विद्यार्थीहरूले स्नातक गरेपछि पनि स्टोर म्यानेजर जस्ता पदमा पदोन्नति हुन वा वर्क भिसा पाउन कानुनी कठिनाइ भोगिरहेका छन् ।

मुसाशी विश्वविद्यालयका अर्थशास्त्री नाओकी सुचिया भन्छन्, ‘विदेशी विना अब जापानका सुविधा पसलहरू चल्नै नसक्ने अवस्थामा पुगेका छन् ।’

त्यस्तै, विश्लेषक टोमोमी नागाई चेतावनी दिन्छिन् कि यदि जापानले आफ्नो भिसा प्रणालीमा सुधार नगर्ने र विदेशीहरूलाई उचित पद र पारिश्रमिक नदिने हो भने, भविष्यमा जापान विदेशी कामदारको रोजाइमा पर्ने छैन । ‘सधैँभरि सस्तोमा विदेशी कामदार प्रयोग गर्ने युग अब समाप्त भएको छ,’ नागाईले भनिन् ।

 

तपाईको प्रतिक्रिया