टोकियो – अमेरिकाले शुक्रबार सार्वजनिक गरेको नयाँ रक्षा रणनीतिले आफ्ना सबै सहयोगी र साझेदार राष्ट्रहरूलाई रक्षा बजेट बढाएर कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत पुर्याउन आग्रह गरेको छ । साथै, अमेरिकाले सहयोगी राष्ट्रहरूलाई आफ्नो राष्ट्रिय सुरक्षामा थप जिम्मेवार बन्नसमेत सुझाव दिएको छ ।
पेन्टागनको यो नीतिगत दस्तावेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ र ‘शक्तिमार्फत शान्ति’को एजेन्डालाई उच्च प्राथमिकता दिइएको छ । अमेरिकाले अब आफ्नो मातृभूमि र पश्चिमी गोलार्धमा आफ्ना हितहरूको रक्षालाई प्राथमिकता दिने भएकाले सहयोगी राष्ट्रहरूले ‘विगतको पुस्ताजस्तो परनिर्भर’ नभई ठूलो भूमिका खेल्नुपर्ने उल्लेख छ ।
ट्रम्प सत्तामा फर्किएको एक वर्षपछि आएको यो पहिलो राष्ट्रिय रक्षा रणनीतिमा भनिएको छ, ‘हामी हाम्रा सहयोगी र साझेदारहरूले युरोपमा मात्र नभई विश्वभर यो ५ प्रतिशतको मापदण्ड पूरा गरून् भन्ने चाहन्छौं ।’ अमेरिका र सहयोगी राष्ट्रहरू मिलेर विश्वका हरेक प्रमुख क्षेत्रमा एकैसाथ आइपर्ने आक्रमणको सामना गर्दै सम्भावित शत्रुहरूलाई रोक्न वा पराजित गर्न सक्षम हुनुपर्नेमा जोड दिइएको छ ।
नेटो सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा रक्षा खर्च जीडीपीको २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउने ट्रम्पको माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेका छन् । नयाँ नेटो लक्ष्यमा ३.५ प्रतिशत मुख्य सैन्य खर्च र १.५ प्रतिशत सुरक्षासँग सम्बन्धित अन्य खर्च समावेश छ ।
दस्तावेजमा युरोप र दक्षिण कोरियाले ट्रम्पको पुनरागमनपछि रक्षा खर्च बढाउने प्रतिबद्धता जनाएकोमा प्रशंसा गरिएको छ । यससँगै जापानलगायत अन्य प्रमुख अमेरिकी सहयोगीहरूलाई पनि ट्रम्प प्रशासनबाट रक्षा बजेट बढाउन दबाब बढ्ने निश्चित देखिएको छ ।








