
टोकियो — इजरायली सेनाले दक्षिणी गाजा पट्टीका दर्जनौँ प्यालेस्टिनी परिवारलाई घर छाडेर अन्यत्र जान आदेश दिएको छ । अक्टोबरमा भएको युद्धविरामपछि पहिलो पटक यस्तो ‘जबरजस्ती निकासी’ आदेश जारी गरिएको भन्दै स्थानीय बासिन्दा र हमासले मंगलबार इजरायलले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गरिरहेको दाबी गरेका छन् ।
खान युनिसको पूर्वी क्षेत्रमा पर्ने बानी सुहाइलाका स्थानीयका अनुसार सोमबार अल–रेकब टोलमा टेन्टमा बसिरहेका परिवारहरूलाई लक्षित गर्दै इजरायली सेनाले पर्चा खसालेको थियो । पर्चामा अरबी, हिब्रु र अंग्रेजी भाषामा “अत्यन्तै जरुरी सन्देश, यो क्षेत्र आईडीएफको नियन्त्रणमा छ, तुरुन्त खाली गर्नुहोस्” भनिएको उल्लेख गरिएको छ ।
तर इजरायली सेनाले भने उक्त कदमलाई जबरजस्ती विस्थापनको योजना नभएको भन्दै अस्वीकार गरेको छ । सेनाले पर्चा खसालिएको पुष्टि गर्दै ती पर्चा हमाससँगको युद्धविरामको सीमारेखा (आर्मिस्टिस लाइन) ननाघ्न चेतावनी दिनका लागि मात्र भएको बताएको छ ।
अमेरिकाको मध्यस्थतामा अक्टोबरमा युद्धविराम सम्झौता लागू भएपछि गाजामा ठूलो स्तरको लडाइँ रोकिएको भए पनि युद्धविराम पहिलो चरणमै अड्किएको जनाइएको छ । पहिलो चरणअन्तर्गत इजरायलले गाजाको केही क्षेत्रबाट फिर्ता भएको र हमासले बन्धक छोडेको बदलामा प्यालेस्टिनी कैदी तथा बन्दीहरू रिहा भएका थिए ।
तर दोस्रो चरणका कठिन विषयहरूमा दुवै पक्षबीच सहमति हुन नसकेको र एकअर्काले युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेको रॉयटर्सले जनाएको छ ।
स्थानीय बासिन्दा मह्मुद (थर नखुलाउने आग्रहसहित) ले निकासी आदेशले कम्तीमा ७० परिवार प्रभावित भएको बताए । ती परिवार टेन्ट र केही क्षतिग्रस्त घरहरूमा बसिरहेका थिए । उनले “गत महिनादेखि इजरायलले ‘पहेंलो रेखा’ बारम्बार भित्र सार्दै आएको छ । अहिलेको निकासी चौथो वा पाँचौँ पटक हो,” भन्दै प्रत्येकपटक करिब १२० देखि १५० मिटर भित्र सारेर थप जमिन नियन्त्रणमा लिइएको दाबी गरे ।
हमासद्वारा सञ्चालित गाजा सरकारको मिडिया कार्यालयका प्रमुख इस्माइल अल–थावाब्ताले युद्धविरामपछि पनि इजरायली सेनाले पूर्वी खान युनिसमा पाँच पटक नियन्त्रण क्षेत्र विस्तार गरेको र यसबाट कम्तीमा ९ हजार मानिस विस्थापित भएको बताए । उनका अनुसार नयाँ आदेशले करिब ३ हजार मानिस प्रभावित भएका छन् । उनले यसले मानवीय संकट थप बढाएको, सीमित आश्रयस्थलमा चाप बढाएको र आन्तरिक विस्थापन झन् गहिरिएको बताए ।
इजरायली सेनाले भने ‘पहेंलो रेखा’ नाघेर आफ्ना सैनिकतर्फ आउँदा “तत्काल खतरा” देखिएको भन्दै गोली चलाइएको तथा गाजामा लक्षित हवाई आक्रमण र अपरेशन जारी रहेको जनाएको छ ।
भविष्यका चरणहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्तर्गत हमासलाई निसस्त्रीकरण गर्ने, इजरायलले थप फिर्ता हुने र अन्तर्राष्ट्रिय समर्थनमा गाजा पुनर्निर्माण हुने परिकल्पना रहेको रॉयटर्सले उल्लेख गरेको छ ।
युद्धविराम लागू भएयता ४६० भन्दा बढी प्यालेस्टिनी र ३ इजरायली सैनिक मारिएको रिपोर्ट गरिएको छ । अक्टोबर २०२३ मा हमास नेतृत्वको आक्रमणमा १,२०० इजरायली मारिएको इजरायलको दाबी छ भने त्यसपछि इजरायलको आक्रमणमा गाजामा ७१,००० मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य निकायले जनाएको छ ।
(रॉयटर्स) ***








