
काठमाडौँ- इरानका विभिन्न सहरहरूमा सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दमन भए “दुख्ने ठाउँमा निकै कडा प्रहार गर्ने” र अमेरिका “सहयोगका लागि तयार” रहेको चेतावनी दिएका छन् । त्यसको जवाफमा इरानी अधिकारीहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सहयोगी र स्वार्थहरूलाई निशाना बनाउँदै प्रतिकार गर्ने दृढता व्यक्त गरेका छन् । यस्तै तनावपूर्ण अवस्थाबीच यस वर्षको आन्दोलनलाई विज्ञहरूले विगतका प्रदर्शनभन्दा अभूतपूर्व मानिरहेका छन् ।
समाजशास्त्री एलि खोर्स्यान्द्फरका अनुसार यो पटकको प्रदर्शन केवल तेहरानजस्ता प्रमुख सहरमा सीमित छैन, “धेरैले कहिल्यै नाम नसुनेका” साना सहरसम्म फैलिएको छ । इरानमा यसअघि पनि ठूला आन्दोलन भएका थिए । सन् २००९ को ‘हरित आन्दोलन’ चुनाव धाँधलीविरुद्ध मध्यम वर्गको नेतृत्वमा मुख्य सहरमै केन्द्रित थियो भने सन् २०१७ र २०१९ का प्रदर्शन कमजोर तथा गरिबबहुल क्षेत्रमा सीमित थिए । सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनले ठूलो तरंग त ल्यायो, तर केही दिनमै उच्च बिन्दुमा पुगेर कमजोर भएको थियो । अहिलेको अवस्था भने फरक देखिएको छ । डिसेम्बर २८ देखि सुरु भएको प्रदर्शन क्रमशः बढ्दै गएको र अझ व्यापक बनेको छ ।
यस आन्दोलनको सुरुआत आर्थिक सङ्कट र महँगीसँग जोडिए पनि त्यसले धेरै छिटो राजनीतिक रूप लिन पुगेको खोर्स्यान्द्फरको भनाइ छ । डलरसँग इरानी रियालको विनिमय दरमा आएको तीव्र उतारचढावपछि तेहरानका व्यापारीहरू हडतालमा उत्रिए, त्यसपछि आन्दोलन पश्चिमी इरानका गरिब क्षेत्रसम्म फैलिएको बताइन्छ । मूल्यवृद्धि र जीवनयापन संकटले मध्यम वर्गसमेत प्रभावित हुँदा हजारौँ मानिस सडकमा निस्किए र “तानाशाह मुर्दावाद” भन्दै सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको सत्ताको अन्त्य माग्न थालेका छन् ।
अघिल्लो आन्दोलनहरूभन्दा यसपटक अर्को फरक पक्ष नेतृत्वको संकेत पनि हो । सन् २०२२ को आन्दोलन नेतृत्वविहीन जस्तो देखिएर चाँडै थामिएको थियो भने अहिले निर्वासित रेजा पह्लवी जस्ता केही व्यक्तित्वहरूलाई आन्दोलनसँग जोडेर हेरिन थालेको छ । शाहका छोरा पह्लवीले टाढाबाट आन्दोलनलाई दिशा दिन खोजेको र उनको आह्वान सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । विश्लेषकहरूका अनुसार सत्ता ढलेपछि “विकल्प” को सम्भावना देखिनुले पनि प्रदर्शनकारीहरूलाई मनोबल दिएको हुन सक्छ, यद्यपि सबैले यसलाई राजतन्त्र फर्काउने चाहनाको रूपमा मात्रै नबुझ्न आग्रह पनि गरेका छन् ।
यस पटकको आन्दोलनलाई अन्तर्राष्ट्रिय रूपमा पनि अघिल्लाभन्दा फरक ढंगले हेरिएको छ । ह्वाइट हाउसबाट खुला समर्थन र ट्रम्पको धम्की आएको देखिनु विगतमा दुर्लभ थियो । उता इरानका राष्ट्रपति मसुद पेजेस्कियानले प्रदर्शनलाई “इरानका शत्रुहरू” ले चलाएको आरोप लगाएका छन् । तर पछिल्ला वर्षहरूमा सिरियाली राष्ट्रपति बशर अल-असद अपदस्थ हुनु, लेबननमा इजरेली कारबाहीपछि हिज्बुल्लाह कमजोर हुनुजस्ता घटनाले इरानका क्षेत्रीय सहयोगीहरू घटेको र सरकार थप दबाबमा परेको विश्लेषण पनि गरिएको छ । इजरेलसँग १२ दिने युद्ध र त्यसपछि इरानमा अमेरिकी तथा इजरेली आक्रमणको केही समयपछि आन्दोलन चर्किनुले परिस्थिति अझ संवेदनशील बनेको देखिन्छ ।








