काठमाडौं – अमेरिकामा अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का अधिकारीहरूले चलाएको गोली लागेर २४ घण्टाभित्रै थप दुई जना नागरिक घाइते भएका छन् । मिनियापोलिसमा एक महिलाको गोली हानी हत्या गरिएको भोलिपल्टै ओरेगन राज्यको पोर्टल्याण्डमा अर्को गोलीकाण्ड भएको हो ।
बिहीबार दिउँसो सवा २ बजेतिर पोर्टल्याण्डस्थित एक अस्पताल नजिकै यो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ । प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार अध्यागमन अधिकारीले चलाएको गोली लागेर सुरुमा एक व्यक्ति घाइते भएका थिए भने त्यसको केही समयलगत्तै अर्का व्यक्ति पनि गोली लागेको अवस्थामा सहयोग माग्दै देखा परेका थिए ।
घटनालगत्तै पोर्टल्यान्ड सिटी काउन्सिलको बैठकमा बोल्दै काउन्सिल अध्यक्ष एलाना पर्टल-गिनीले गोली लाग्नेहरू स्थानीय बासिन्दा नै रहेको पुष्टि गरेकी छन् । घटनाको अनुसन्धान संघीय जाँच ब्युरो (एफबिआई) ले सुरु गरिसकेको छ भने घाइतेहरूको पछिल्लो अवस्थाबारे पूर्ण विवरण आउन बाँकी छ ।
लगातारका गोलीकाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र स्थानीय सरकारबीचको तनाव उत्कर्षमा पुर्याएको छ । पोर्टल्याण्डका मेयर किथ विल्सन र सिटी काउन्सिलले एक कडा विज्ञप्ति जारी गर्दै पूर्ण अनुसन्धान नभएसम्म सहरमा आईसीईका सम्पूर्ण गतिविधि रोक्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पोर्टल्याण्ड कुनै सैन्यीकृत एजेन्टहरूको अभ्यास गर्ने थलो होइन । नागरिकको संवैधानिक अधिकार कुण्ठित हुने र रगत बग्ने अवस्थाप्रति हामी गम्भीर चिन्तित छौँ ।’
उता, ओरेगनका डेमोक्र्याट सिनेटर जेफ मर्क्लीले राष्ट्रपति ट्रम्पले दंगा भड्काउन खोजेको आरोप लगाउँदै नागरिकहरूलाई शान्त रहन र उत्तेजनाको पासोमा नपर्न सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् । बुधबार मात्रै मिनियापोलिसमा आईसीई अधिकारीको गोलीबाट ३७ वर्षीया रेनी निकोल गुडको मृत्यु भएको थियो । तीन सन्तानकी आमा र कवयित्री गुडको हत्यापछि त्यहाँ विरोध प्रदर्शनहरू चर्किएका छन् ।








