टोकियो – जापानको राष्ट्रिय प्रहरी एजेन्सीले अवैध बैंक खाता कारोबार र पछिल्लो समय मौलाउँदै गएको ‘मनी ट्रान्सफर पार्ट-टाइम वर्कर’ (रकम स्थानान्तरण गर्ने आंशिक कामदार) को जालो तोड्न कानूनमा कडाइ गर्ने तयारी गरेको छ ।
बिहीबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार, प्रहरीको विज्ञ टोलीले तयार पारेको प्रतिवेदनले ‘आपराधिक आम्दानी स्थानान्तरण रोकथाम ऐन’ अन्तर्गतको दण्ड सजायलाई अझ सख्त बनाउन सिफारिस गरेको छ । एजेन्सीले यसै महिना सुरु हुने संसदको नियमित अधिवेशनमा कानून संशोधनका लागि विधेयक पेस गर्ने लक्ष्य राखेको छ ।
प्रतिवेदनका अनुसार, आपराधिक संगठनहरूले अवैध धन ओसारपसार (मनी लाउन्डरिङ) का लागि प्रयोग हुने बैंक खाताहरू खरिद गर्न पहिलेभन्दा उच्च मूल्य तिर्न थालेका छन् । प्रहरीको विश्लेषणअनुसार सन् २०२४ मा प्रति बैंक खाताको औसत मूल्य ३५,००० जापानी येन (करिब २२३ अमेरिकी डलर) पुगेको छ, जुन सन् २०११ देखि २०१२ को तुलनामा करिब १.५ गुणा बढी हो ।
केही घटनाहरूमा त एउटै खाताको मूल्य ५ लाख येनसम्म पुगेको पाइएको छ । यो रकम २०११-१२ को अवधिमा देखिएको अधिकतम मूल्य (७० हजार येन) भन्दा सात गुणा बढी हो ।
अपराधीहरूले सामाजिक सञ्जालमा ‘हामी तपाईंको बैंक खाता किन्छौं’ भन्दै विज्ञापन गर्ने वा व्यवसायीहरूलाई फकाएर धेरै कर्पोरेट खाताहरू खोल्न लगाउने र ती खाता पुनः बिक्री गर्ने गरेको पाइएको छ । यस्ता खाताहरू चोरी वा ठगीको रकम तीव्र गतिमा स्थानान्तरण गर्न प्रयोग गरिन्छ, जसले गर्दा प्रहरीलाई रकमको स्रोत पत्ता लगाउन र वित्तीय संस्थाहरूलाई खाता रोक्का (फ्रिज) गर्न कठिन हुन्छ ।
प्रतिवेदनले चिन्ता व्यक्त गर्दै भनेको छ, ‘बैंक खाता बेच्ने र किनबेचमा संलग्न हुने धेरै सर्वसाधारणलाई यो कार्य गैरकानूनी हो भन्ने हेक्का नै हुँदैन ।’








