Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

मुलुक अहिले जटिल परिस्थितिमा उभिएको छ । फागुन २१ मा आम निर्वाचनको आयोजना गरिएको छ । एकथरि मानिसहरु निर्वाचन हुनेमा ढुक्क देखिन्छन् अर्कोथरि निर्वाचनका लागि वातावरण नभएको भन्दै निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै हिडिरहेका छन् । अर्कोतिर सर्बोच्चले प्रतिनिधि सभा ब्युँताईदिने र छँदाखादाको सत्ताको स्वादमा फेरि फर्कन पाईने सपना देख्दै र्‍याल चुहाईरहेका छन् । आ-आफ्नो स्वार्थ र अनुकुलता अनुसार ब्याख्या-विश्लेषण गर्ने नेपालीहरुको पुरानै रोग हो । निर्वाचन भईहाले पनि देशका तमाम समस्याहरु र उत्पन्न परिस्थिति हल हुने छाँटछन्द र संकेत देखिदैन । निर्वाचन हुन सकेन भने वा सर्बोच्चबाट प्रतिनिधि सभा पुनर्स्थापना भईहाल्यो भने पनि संबैधानिक संकटमा मुलुक फस्ने संभावना देखिन्छ ।

पञ्चायतकालिन राजनैतिक वृत्तमा ग्य्राण्ड डिजाइन, भूमिगत गिरोह, अराष्ट्रिय तत्व जस्ता हाउगुजीका शब्दहरु निकै सुनिन्थ्यो, बहुदल आएपछि पनि विदेशी शक्तिकेन्द्रको चलखेल, रअ, साउथ ब्लक, पश्चिमा हावा जस्ता हौवा चलाएर आफ्नो दोष अदृश्य शक्तितिर सोझ्याईन्थ्यो । पछिल्ला केही दशक यता गठबन्धन र सेटिङ नामका राजनीति हावी देखिन्छ, त्यो आज पर्यन्त सतहमा मौजुद छ । गठबन्धन र सेटिङ प्राकृतिक र अप्राकृतिक गरी दुईथरिका हुन्छन् । तात्कालिन नेकपा एमाले र तात्कालिन माओबादी केन्द्रबीच पहिले गठबन्धन र पछि पार्टी नै एकता गरी नेकपा बनाईयो । जसलाई धेरैले रुचाएका थिएनन् । कालान्तरमा त्यसको परिणाम सुखद रहेन । विकास र समृद्धि हासिल गर्नका लागि राजनैतिक स्थायित्व आवश्यक पर्ने भएकोले त्यसका लागि दुईतिहाईको बहुमत जुटाउन मिल्न खोजेका दुई ठूला कम्युनिष्ट पार्टीलाई मिल्न दिईएन । सर्बोच्चले छडि चलाएर उनीहरुलाई पहिलेकै अवस्थामा थचारिदियो । त्यसलाई पनि विदेशी शक्तिको चलखेल भनियो । त्यसपछि सत्ता र शक्तिको दाउपेचमा नराम्रोसंग जकडिएको नेपाली राजनीति यस्तो बिन्दुमा आईपुग्यो कि संसारमै नभएको सदनका पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर सरकार बनाईयो । यो आफैमा अप्राकृतिक र अस्वस्थ्य गठबन्धन थियो । दुईतिहाईको बलमा संविधान संशोधन गर्न, सुशासन कायम गर्न र भ्रष्टाचारीलाई कार्वाही गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपरेको भन्दै जनता झुक्याए पनि यो गठबन्धन सर्बथा त्रुटीपूर्ण थियो । जनतामा चरम निराशा छाएको बेला, शक्तिशाली सरकारबाट ठूलो अपेक्षा बढेको बेला, भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका आफ्ना दल निकटका नेताहरु जोगाउन र इतर पक्षलाई प्रतिशोध साँध्न तात्कालिन सरकार उद्यत रह्यो । त्यति शक्तिशाली दुईतिहाईको सरकारले आफुले जाहेर गरेका प्रतिबद्धताहरु मध्य एउटा सिन्कासम्म भाँच्न सकेन । अन्ततः जेन्जी आन्दोलनबाट अन्तर्राष्ट्रियरुपमै बेइजतीको सामना गर्दै इतिहासकै सबैभन्दा बदनाम सरकार सत्ताच्युत हुनुपर्‍यो । किनभने यो अप्राकृतिक र निकृष्ट उद्देश्यका लागि गरिएको सेटिङ थियो, त्यसको परिणाम पनि सोहीअनुसार हुने नै भयो र प्रमाणित भएरै छोड्यो ।

अहिले फेरि सेटिङका नयाँ-नयाँ नाटकहरु मञ्चन भईरहेका छन् । तात्कालिन शक्तिशाली सरकारको सेटिङमा थुनिएकाहरु सेटिङमै छुटेर फेरि अर्को सेटिङ मिलाउन ब्यस्त देखिन्छन् । अप्राकृतिक सेटिङ र अप्राकृतिक गठबन्धनबाट सुखद परिणामको अपेक्षा गर्न किमार्थ सकिदैंन । निर्वाचनकेन्द्रीत सेटिङहरु धेरै टाढासम्म पुग्न नसकेका विगतका नजिरहरु प्रशस्तै छन् । त्यसको पनि यतिबेला सिंहावलोकन हुनु जरुरी छ ।

आज समाजमा भ्रम फैलाउने र त्यसबाट मजाक लिने प्रवृत्ति बढ्दै गईरहेको छ । हिजोआज ज्ञान, तथ्य र विचार बिक्दैनन् । भ्रम, नकारात्मकता र अराजकता बिक्छन् । संवदेदनशिलता हराउँदै गएको छ । राज्यका गम्भीर विषयहरु आज मजाक बनाईर्दैंछन् । हुन त अहिले राज्य नै मजाक जस्तो बनेको छ । आफुले पाएको म्याण्डेट बारेमा न्युनतम चेत नहुनेहरु पनि आज राज्यमा हालीमुहाली गरिरहेका छन् । समाजका कैयन् पत्रकार, कलाकार, कमेडियनहरु समाजमा भ्रम फैलाउन, नैराश्यता बढाउन र सवेदनशील विषयलाई मजाकमा उडाउन मै ब्यस्त देखिन्छन् । आज विचार बिक्दैनन् प्रोपोकाण्डा बिक्छन्, आज ज्ञान बिक्दैनन्, अफवाहका मसला बिक्छन्, आज सत्य बिक्दैन भ्रम र स्वार्थ बिक्छ ।
आजको विश्व राजनीति हेर्ने हो भने एउटा खतरनाक मोडमा छ । पछिल्लो समयको विश्वराजनीतिमा पपुलिज्म हाबी हुँदै गईरहेको छ । राजनीति विचार, सिद्धान्त र योजनाको जगमा उभिनुपर्ने हो, न कि आक्रोश, कुण्ठा र अवसरवादमा । बिना विचार, सिद्धान्त र कार्यदिशा पपुलिज्मका भरमा अगाडि बढेको राजनीति खोक्रो र क्षणिक हुन्छ । यसले समाजलाई दुर्घटनातिर लैजान्छ । पपुलिज्मको राजनीतिले क्षणिक ताली र वाहवाही त पाउँछ तर देशलाई दुर्घटनातिर धकेल्छ । किन कि पपुलिज्मले काम होइन कथा बेच्छ । नीति हैन नारा कुर्लन्छ, विश्वशनीयता र योजना हैन क्षणिक उत्तेजना फैलाउँछ । राजनीति यस्तो क्षणिक उत्तेजनामा हैन गहिरो विचार, सिद्धान्त र स्पष्ट दिशामा उभिनुपर्दछ । असल राजनीति त्यो हो जसले भिड होइन विचार खोज्छ, जसले गफ होइन काम देखाउँछ । भूराजनीतिदेखि अंकगणितको खेलसम्म, मिडिया मेनुपोलुशनदेखि भ्रमको खेतीसम्मले गिजोल्दै आएको नेपालको राजनीति त्यति सजिलो छैन । त्यसैले अबको सवाल यो छ कि हामी भावनामा बगेर पपुलिज्म रोज्ने कि, भविष्य बनाउने उन्नत विचार रोज्ने भन्ने हो ।

देश चलाउने मान्छे परिपक्व हुनुपर्छ, आवेगी हुनुहुँदैन, ढोंगी हुनुहुँदैन । देश चलाउने मान्छे जिम्मेवार हुनुपर्दछ, दुरदर्शी हुनुपर्दछ, देशभक्त हुनुपर्दछ । त्यसैले सस्तो लोकप्रियताका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने र निजी महत्वाकाँक्षाका लागि सबथोक त्याग्न सक्नेहरुलाई के को आधारमा फेरि पनि विश्वास गर्ने भन्ने अवको सवाल हो । तसर्थ पनि आफ्नो मनोविज्ञान करेक्शन गर्ने उपयुक्त अवसर आएको छ, जसको भरपुर सदुपयोग गरौं । 

युवाहरुको क्षमता नहुने भन्ने हैन, कुनै मानिस योग्य हुनका लागि युवा नै हुनुपर्छ भन्ने छैन । कुनै मानिस बूढो भएकै कारणले अयोग्य भन्ने पनि हुँदैन । ७८ वर्षका देन्शाओपेनको देश बनाउने हुटहुटी र भिजनले आजको चीन कहाँ पुगिसक्यो । महाशक्ति राष्ट्र सोभियत संघमा पनि युवा चाहिन्छ भन्ने भाष्य उतिबेलै निर्माण गरिएकै थियो, बूढा कम्युनिष्ट नेताहरुबाट अब हुँदैन, अब युवा कम्युनिष्ट नेता चाहिन्छ भनेर त्यतिबेलाको अवस्थामा ५२ वर्षका मिखायल गोर्वाचोभलाई ल्याएर सोभियत संघ जिम्मा लगाइयो, तर महाशक्ति राष्ट्रलाई उनले कुन हालतमा पुर्‍याएर छोडे ।

हाम्रो देश नेपालको अहिलेको राजनीतिलाई हेर्ने हो भने मध्यम वर्गिय समाज अहिले चरम संकट र निराशामा छ । यो वर्गले आफ्नो संकट हल गर्नका लागि जहिले पनि सजिलो उपायको खोजी गरिरहेको हुन्छ । त्यो सजिलो उपाय भनेको चम्किला नारा उराल्ने अनि भ्रम छर्ने र भिड आफुतिर आकषिर्त गर्ने नै हो । त्यसका लागि समाजमा स्थापित भएका पात्रहरुलाई अगाडि ल्याउने प्रचलन नेपालमा पनि सुरु भएकै छ । जिन्दगीभरि चलचित्रमा काम गरेका नाम चलेका हिरो, हिरोइन वा अन्य कुनै क्षेत्रमा स्थापित पात्रलाई नेता बनाउन खोजिन्छ । भिडतन्त्रमा सेलिब्रेटीहरुले चुनाव जित्ने नै भए । तर उनीहरु प्रायःमा राजनैतिक चेत भने केही पनि हुँदैन अनि परिणाम केही निकाल्न सक्दैनन् । किन कि उनीहरुले जिन्दगीभरि अरु नै काम गरिरहेका थिए । यस्तो किन भईरहेको छ त भन्दाखेरि पुराना भनिएका रैथाने पार्टीका कारण वर्षौदेखि निराशामा बाँचिरहेका सहरकेन्द्रित मध्यमवर्गीय जमातलाई चर्का र चम्किला नारा दिएर आकर्षित गर्न सकिन्छ भन्ने राम्रोसंग बुझेका टाँठाबाठाहरुले आफुलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन गरिने हर्कतहरु प्रायः यस्तै हुन्छन् । विकल्प खोज्ने नाममा हामीबाट फेरि पनि गलत पो भईरहेको छ कि अहिलेको अहम प्रश्न यहि नै हो ।

वैकल्पिक होस् या रैथानै भनिएका दल विशेषलाई अब हामीले सोध्नैपर्ने प्रश्न यो छ कि अहिले रोजगारीका लागि विदेश गएका करिव ८० लाख युवाहरुलाई देशभित्रै टिकाउन सक्ने योजना के छ, अनि आफ्ना कारण पीडित भएका भनिएकाहरुलाई न्याय दिलाउन संलग्न र सरोकारवलाहरुको जबाफ के छ ? जबाफ दिनुपर्ने ठाउँमा पुगेकाले जबाफ दिने कल्चरको पनि बिकास गर्नुपर्ने हैन र ? त्यसकारण जो जे हो, त्यहि हुन दिऔं, त्यहि अनुसारको आ-आफ्नो कर्म गरौं । धुर्मुस सुन्तली कमेडीमा जग हसाएरैं नाम र दाम दुबै मनग्गे कमाएकै थिए त । क्रिक्रेट रंगशालाको भुत कताबाट चढ्न पुगेको हो कुन्नि ? अहिले अमेरिका पुगेर पनि रंगशालाको भुतले उनीहरुलाई आरामले सुत्न दिएको छैन । हाम्रो समाजमा अन्य थुप्रै यस्ता पात्रहरु छन् अर्थोक केही गर्दागर्दै रातारात चलचित्र क्षेत्रमा आएर नायक-नायिकाको भूमिकामा देखिन्छन् तर दर्शकले पटक्कै रुचाएका छैनन् । त्यसैले अन्य क्षेत्रमा सफल र स्थापित हुँदैमा राजनीतिमा पनि राम्रो गर्न सक्छन् भन्ने भाष्य पनि पूरै सहि होइन अनि युवा हुँदैमा जुनसुकै काम गर्नका लागि पनि उसको योग्यता पुग्ने र बूढो हुँदैमा उ अयोग्य भन्ने भाष्य पनि गलत छ । युवा उमेरले हैन उन्नत विचार र सिर्जनशील क्रियाशिलताले मापन हुने कुरो हो । योग्यता र क्षमताको कसीमा समयसंगै जो धारिलो बनेर अपडेट भईरहन्छ उ नै साँचो अर्थमा उन्नत चेत भएको युवा कहलिन्छ ।***

तपाईको प्रतिक्रिया