टोकियो – युनिक्लो कपडा चेनको सञ्चालक कम्पनी ‘फास्ट रिटेलिङ’ले जापानमा आफ्ना नयाँ कर्मचारीहरूको सुरुवाती तलब बढाउने घोषणा गरेको छ ।
सोमबार कम्पनीले दिएको जानकारी अनुसार, अब नयाँ कर्मचारीको मासिक तलब ३ लाख ३० हजार येनबाट बढाएर ३ लाख ७० हजार येन पुर्याइएको छ । बजारमा जनशक्तिको प्रतिस्पर्धा कायम राख्न र उत्कृष्ट कर्मचारी आकर्षित गर्न कम्पनीले लगातार दोस्रो वर्ष तलब वृद्धि गरेको हो ।
युनिक्लो, जीयू , पीएलएसटी र लिंक थ्योरी जस्ता ब्राण्डहरूले आउँदो वसन्त ऋतुमा करिब ४८० जना नयाँ स्नातकहरूलाई भर्ना गर्ने तयारी गरेका छन् । यो ४० हजार येनको वृद्धि विशेषगरी ‘व्यवस्थापन उम्मेदवार’ कार्यक्रम अन्तर्गत भर्ना हुने कर्मचारीका लागि हो, जसले भविष्यमा विदेशमा सरुवा भई जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ ।
सन् २०२० यता यस श्रेणीका कर्मचारीहरूको तलब वृद्धि भएको यो चौथो पटक हो । विगत ६ वर्षको अन्तरालमा उनीहरूको तलबमा कुल १ लाख ६० हजार येनले वृद्धि भइसकेको छ । बोनससहित हिसाब गर्दा उनीहरूको वार्षिक आम्दानी अब करिब ५९ लाख येन पुग्ने अपेक्षा गरिएको छ, जुन हालको दरभन्दा १२ प्रतिशतले बढी हो ।
त्यस्तै, निश्चित स्थानमा रही काम गर्ने र सरुवा आवश्यक नपर्ने प्रकृतिका पदहरूमा पनि तलब बढाइएको छ । यस्ता कर्मचारीको सुरुवाती तलब २ लाख ५५ हजार येनबाट बढाएर २ लाख ८० हजार येन पुर्याइएको कम्पनीले जनाएको छ ।








