समाचार सुन्नुहोस :
काठमाडौँ – बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो एक भयानक कार दुर्घटनामा परेकी छन्। दुर्घटनामा उनको टाउकोमा चोट लागेको भए पनि उनी शनिबार साँझ आयोजित कन्सर्टमा प्रस्तुति दिन पुगेकी थिइन्।
नोरा ‘सनबर्न फेस्टिभल’मा डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन्। मदिराले लठ्ठ भई तीव्र गतिमा कार चलाइरहेका एक व्यक्तिले नोराको कारलाई ठक्कर दिएका थिए। उक्त दुर्घटनामा अन्य केही व्यक्तिहरू पनि घाइते भएका छन्।
नोराले सार्वजनिक गरेको भिडियोअनुसार दुर्घटना दिउँसो करिब ३ बजे भएको थियो। टाउकोमा चोट लागेपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। सिटी स्क्यान गर्दा गम्भीर आन्तरिक चोट नदेखिएको चिकित्सकले बताएका छन्। चिकित्सकको अनुमति पाएपछि नोरा शनिबार राति ‘सनबर्न २०२५’ मा प्रस्तुति दिन गएकी थिइन्।
घटनापछि चालकविरुद्ध उजुरी दर्ता गरिएको छ र प्रहरीले उनलाई हिरासतमा लिएको छ। दुर्घटनापछि पनि ऊर्जासाथ प्रस्तुति दिएको भन्दै नोराको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।








