-
घरजग्गाको मूल्य निरन्तर उकालो लागेपछि ५० वर्ष अवधिको आवास कर्जाको प्रयोग बढ्यो
टोकियो – जापानमा घरजग्गाको मूल्य निरन्तर उकालो लागेपछि युवा पुस्तामा ५० वर्ष अवधिको आवास कर्जा (हाउसिङ लोन) को प्रयोग बढ्दै गएको छ । सामान्यतया ३५ वर्षको भुक्तानी अवधि रहने ऋणभन्दा धेरै लामो समयको यो ऋण योजना अहिले लोकप्रिय बनिरहेको छ । आफूले चाहेको घर खरिद गर्नका लागि युवाहरूले मासिक किस्ताको भार कम गर्न यो बाटो रोजिरहेका छन् ।
तर, ऋणको अवधि लम्बिँदा साँवा र ब्याजसहितको कुल भुक्तानी रकम बढ्न जाने र अवकाश जीवन (रिटायरमेन्ट) पछि पनि ऋणको भारी बोकिराख्नुपर्ने जोखिम देखिएको छ । यसका साथै, ‘बैंक अफ जापान’को मौद्रिक नीतिमा आएको परिवर्तनका कारण भविष्यमा ब्याजदरमा आउन सक्ने उतारचढाव पनि अर्को चिन्ताको विषय बनेको छ । गएको जुलाई महिनामा ‘पे-पे बैंक’ले ५० वर्षे ऋण योजना सुरु गरेको थियो । तथ्यांकअनुसार २० देखि २९ वर्ष उमेर समूहका ७० प्रतिशत र ३० देखि ३९ वर्ष उमेर समूहका ४९ प्रतिशत ग्राहकले ३५ वर्षभन्दा बढी अवधिको ऋण रोजेका छन् ।
अन्य इन्टरनेट तथा क्षेत्रीय बैंकहरूले पनि लक्षित उमेर समूहका लागि लामो अवधिको ऋण उपलब्ध गराइरहेका छन् । सैद्धान्तिक रूपमा, ऋणीले ८० वर्षको उमेरसम्ममा ऋण चुक्ता गरिसक्नुपर्ने नियम बनाइएको छ । आवास कर्जा सेवा प्रदायक ‘एमएफएस इंक’का ताकाशी सियोजावाको गणना अनुसार, यदि कुनै ग्राहकले ०.७५ प्रतिशत वार्षिक ब्याजदरमा ६ करोड येन (करिब ३ लाख ८० हजार अमेरिकी डलर) ऋण लियो भने ३५ वर्षे अवधिका लागि मासिक किस्ता करिब १ लाख ६० हजार येन हुन्छ भने कुल ब्याज मात्रै करिब ८२ लाख ३० हजार येन तिर्नुपर्छ । तर, सोही रकम ५० वर्षे अवधिका लागि लिँदा मासिक किस्ता घटेर करिब १ लाख २० हजार येन हुन्छ, यद्यपि कुल ब्याज रकम भने बढेर १ करोड १९ लाख ७० हजार येन पुग्छ ।
घरजग्गा समूह ‘लाइफुल’का तोशिकाी नाकायामा भन्छन्, ‘५० वर्षे ऋणले मासिक किस्ताको भार कम गर्छ, जसले गर्दा तपाइँसँग खर्च गर्न वा बचत गर्न थप पैसा बाँकी रहन्छ ।’ उनले बचेको पैसा लगानीमा लगाउनु एउटा राम्रो विकल्प हुन सक्ने बताए । यद्यपि, बिरामी पर्दा वा जागिर परिवर्तन हुँदा आउन सक्ने आर्थिक कठिनाइ जस्ता जोखिमलाई मध्यनजर गर्दै मध्यमदेखि दीर्घकालीन जीवन योजना बनाएर मात्र ऋण लिन नाकायामाले सुझाव दिएका छन् ।








