टोकियो – टोकियोको अत्यधिक व्यस्त र प्रमुख पर्यटकीय केन्द्र मानिने ‘सिबुया वार्ड’ले जथाभावी फोहोर फाल्नेहरूलाई निरुत्साहित गर्न नयाँ र कडा नियम लागू गर्ने भएको छ । कोभिड महामारीपछि बढेको पर्यटकको चापसँगै सडकमा फोहोरको समस्या विकराल बनेपछि स्थानीय सरकारले जरिवानासहितको नयाँ अध्यादेश स्वीकृत गरेको हो ।
बिहीबार स्वीकृत भएको नयाँ नियमअनुसार, अब सिबुया वार्डभित्र कसैले जथाभावी फोहोर फ्याँकेको भेटिएमा २,००० येन (जापानी मुद्रा) जरिवाना तिर्नुपर्नेछ । प्रशासनका अनुसार यो नियम २४ सै घण्टा लागू हुनेछ र गस्तीमा खटिएका अधिकारीहरूले घटनास्थलमै नगद वा ई-मनीमार्फत जरिवाना असुल्न सक्नेछन् । यो प्रतिबन्ध सिबुया स्टेसन र हाराजुकु जस्ता अति भीडभाड हुने क्षेत्रमा मात्र नभई एबिसु, योयोगी र सिन्जुकु ताकासिमाया क्षेत्रसहित सिबुया वार्डका सबै स्थानमा लागू हुनेछ ।
व्यक्तिगत जरिवानाका साथै, सिबुया वार्ड एसेम्बलीले अर्को अध्यादेश पनि पारित गरेको छ । जसअनुसार सिबुया स्टेसन वरपरका तोकिएका क्षेत्रका ‘कन्भिनियन्स स्टोर’ र पेय पदार्थ तथा खानेकुरा बिक्री गर्ने क्याफेहरूले अब अनिवार्य रूपमा सार्वजनिक ‘डस्टबिन’ (फोहोर फाल्ने भाँडो) राख्नुपर्नेछ । यदि व्यवसायीले यो नियम पालना नगरेमा उनीहरूलाई ५०,००० येन जरिवाना गरिनेछ ।
विदेशी पर्यटकका लागि २,००० येन सामान्य रकम लाग्न सक्ने भए पनि स्थानीयका लागि भने यो महँगो जरिवाना हो । यसअघिका सामान्य चेतावनीहरूले सहर सफा राख्न मद्दत नगरेपछि प्रशासन बाध्य भएर कडा रूपमा प्रस्तुत भएको हो । यी नयाँ नियमहरू आगामी जुन १ तारिखदेखि लागू हुनेछन् ।








