समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा दुई पद बाहेक अन्य सबै पदाधिकारी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचित भएका छन्। बुधबार भएको विद्युतीय मतदानबाट अध्यक्ष, चार उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र नौ सचिव गरी कुल १७ जना पदाधिकारी ओली प्यानलबाट विजयी भएका हुन्।
मतपरिणामअनुसार अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’ र रघुजी पन्त विजयी भएका छन्। यसैगरी, ओली प्यानलबाटै शंकर पोखरेल पुनः महासचिवमा निर्वाचित भएका छन्।
तीन उपमहासचिवमध्ये ओली प्यानलका लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन्। साथै, नौ सचिव पदमा पनि सबै ओली प्यानलकै उम्मेदवार विजयी भएका छन्। निर्वाचित सचिवहरूमा महेश बस्नेत, पद्मा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन्।








