Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – अमेरिकी डलरको भाउले ऐतिहासिक उचाइ कायम गरेसँगै नेपालको अर्थतन्त्र, विशेषगरी सार्वजनिक ऋणको दायित्वमा गम्भीर असर देखिएको छ । नेपाल राष्ट्र ब्याङ्कका अनुसार मङ्गलवार एक अमेरिकी डलरको बिक्रीदर १४५.४८ रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च बिन्दु हो ।

भारतीय रुपैयाँ (भारु) सँग नेपाली मुद्राको स्थिर विनिमय दर (पेग्ड सिस्टम) कायम रहेको र पछिल्लो समय भारु निरन्तर कमजोर बन्दै गएकाले नेपाली रुपैयाँको अवमूल्यन भएको हो । यसले आयात महँगो बनाउनुका साथै देशको वैदेशिक ऋणको भार अस्वाभाविक रूपमा बढाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार नेपालको कुल ऋण दायित्व २७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ, जसमध्ये १४ खर्ब ५३ अर्ब रुपैयाँ वैदेशिक ऋण हो । वैदेशिक ऋणको भुक्तानी विदेशी मुद्रामै गर्नुपर्ने भएकाले डलर महँगो हुँदा नेपालले तिर्नुपर्ने दायित्व स्वतः बढेको छ ।

कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाका अनुसार विनिमय दरमा आएको पछिल्लो गिरावटका कारण मात्रै राज्यको टाउकोमा अतिरिक्त ४४ अर्ब २२ करोड रुपैयाँको दायित्व थपिएको छ । ‘यदि आजकै दिनमा सबै विदेशी ऋण चुक्ता गर्ने हो भने विनिमय दरको नोक्सानीले मात्रै हामीलाई ४४ अर्बभन्दा बढी घाटा लाग्ने देखिन्छ,’ कोइरालाले भने ।

गत वर्ष १३४ रुपैयाँ हाराहारीमा रहेको डलरको भाउ एक वर्षमै ७ प्रतिशतले बढेको छ । पाँच वर्षअघि ११८ रुपैयाँ रहेको डलर १४५ नाघ्दा यसले दीर्घकालीन आर्थिक दायित्व बढाएको विश्लेषकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया