टोकियो – जापान हुलाक (जापान पोस्ट) ले नयाँ वर्षको पहिलो दिन वितरण गरिने शुभकामना कार्डहरू बुझ्न औपचारिक रूपमा सुरु गरेको छ । सोमबार टोकियोमा आयोजित एक विशेष कार्यक्रममा स्थानीय किन्डरगार्टेनका बालबालिकाहरू सहभागी भई जापानको यो लोकप्रिय तथा परम्परागत हुलाकी संस्कृतिको सुरुआत गरेका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रभावले हुलाक मार्फत भौतिक कार्ड पठाउने चलनमा उल्लेख्य कमी ल्याएको छ । यसका साथै, गत वर्षको अक्टोबरमा हुलाक महसुलमा भएको वृद्धिले पनि यो सेवाको मागलाई थप घटाउने जापान पोस्टको प्रक्षेपण छ । कम्पनीले यस वर्ष सुरुवाती चरणमा करिब ७५ करोड (७५० मिलियन) कार्ड जारी गर्ने जनाएको छ । यो संख्या गत वर्षको तुलनामा करिब ३० प्रतिशतले कम हो । सन् २००४ देखि यससम्बन्धी तथ्याङ्क राख्न थालिएयताकै यो सबैभन्दा ठूलो गिरावट र कीर्तिमानी न्यून संख्या हो ।
सोही कार्यक्रममा टोकियोस्थित हुलाक कार्यालयमा भेटिएकी ५० वर्षकी एक महिलाले आफ्ना आफन्त र इष्टमित्रहरूलाई करिब ३० वटा कार्ड पोस्ट गरिन् । हुलाक सेवाप्रति मानिसहरूको आकर्षण घट्दै गएको सन्दर्भमा उनले भनिन्, ‘धेरै मानिसहरूले आजभोलि नयाँ वर्षको कार्ड पठाउन छोडिसके, तर मलाई यो एक असल परम्परा लाग्छ । त्यसैले म यसलाई निरन्तरता दिइरहेकी छु ।’
जापान पोस्टले नयाँ वर्षको पहिलो दिन (जनवरी १) मै कार्डहरू सम्बन्धित व्यक्ति कहाँ पुर्याउन सुनिश्चितताका लागि डिसेम्बर २५ भित्रै पोस्ट गरिसक्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।








