Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – अन्तर्राष्ट्रिय बजारमा ‘माचा’ (जापानी धुलो चिया) को बढ्दो लोकप्रियता र जापानी मुद्रा येनको अवमूल्यनका कारण जापानको हरियो चिया (ग्रिन टी) को निर्यात ७० वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सरकारी तथा उद्योगसम्बद्ध तथ्यांकअनुसार सन् २०२४ को पहिलो १० महिनामा चियाको निर्यातले ऐतिहासिक फड्को मारेको हो ।

गत जनवरीदेखि अक्टोबरसम्मको अवधिमा जापानबाट १० हजार ८४ टन चिया निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो । यस अवधिमा जापानी चियाको सबैभन्दा ठूलो खरिदकर्ता संयुक्त राज्य अमेरिका बनेको छ । अमेरिकाले ३ हजार ४ सय ९७ टन चिया आयात गरेको छ भने ताइवान, थाइल्याण्ड र जर्मनी क्रमशः अन्य प्रमुख गन्तव्य बनेका छन् ।

विशेष गरी स्वास्थ्यप्रति सचेत उपभोक्ताहरूमाझ जापानी परिकार र खाद्यवस्तुको लोकप्रियता बढ्दै गएकाले विगत नौ वर्षदेखि हरियो चियाको निर्यात निरन्तर उकालो लागिरहेको छ । तथ्यांकअनुसार सन् १९५४ मा जापानले ११ हजार ५ सय ५३ टन चिया निर्यात गरेर कीर्तिमान कायम गरेको थियो । त्यसयता चिनियाँ चियाको बढ्दो प्रभावका कारण जापानी चियाको वार्षिक निर्यात १० हजार टनभन्दा तल सीमित रहँदै आएको थियो । तर, यस वर्षको १० महिनामै निर्यातले १० हजार टनको आँकडा पार गर्दै ७० वर्षभन्दा लामो समयपछिको उच्च विन्दुमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि जापानभित्र भने हरियो चियाको खपत सुस्त छ । यद्यपि, उत्पादनमा आएको गिरावटका कारण चियापत्तीको मूल्य भने आकासिएको छ । सन् २०२४ मा जापानमा करिब ७४ हजार टन चियापत्ती उत्पादन भएको छ, जुन एक दशकअघिको तुलनामा १० प्रतिशतभन्दा कम हो । पिउनका लागि प्रयोग हुने ‘सेन्चा’ चियाको मागमा आएको कमी र कृषि क्षेत्रमा संलग्न जनसंख्याको बढ्दो उमेरका कारण उत्पादन घट्दै गएको विश्लेषण गरिएको छ ।

जापानको प्रमुख चिया उत्पादक क्षेत्र कागोसिमा प्रिफेक्चरस्थित एक कृषि सहकारीका अनुसार, सामान्यतया बोतलमा पाइने चियाका लागि प्रयोग हुने अक्टोबर र नोभेम्बरमा टिपिएको चियापत्तीको मूल्य प्रतिकिलोग्राम २,५०० येन (करिब १६ अमेरिकी डलर) भन्दा बढी पुगेको छ । यो मूल्य अघिल्लो वर्षको तुलनामा ६ गुणाले बढी हो ।

 

तपाईको प्रतिक्रिया