Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा मादक पदार्थ सेवन (मापसे) गरी साइकल चलाउनेहरू विरुद्ध प्रहरीले कडा कारबाही सुरु गरेको छ । जापानी प्रहरीका अनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको अवधिमा मात्रै मादक पदार्थ सेवन गरी साइकल चलाउने करिब ९०० जनाको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) निलम्बन गरिएको छ ।

गत वर्षको अन्त्यतिर साइकल यात्रीहरूका लागि जरिवाना तथा कारबाहीसम्बन्धी कडा नियमहरू लागू भएपछि लाइसेन्स निलम्बन हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको हो । राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार विगतमा ‘मापसे गरी साइकल चलाउने’ कसुरमा लाइसेन्स निलम्बन हुनेको संख्या अत्यन्तै न्यून (२३ जना) थियो । तर, यस वर्षको पहिलो नौ महिनामै यो संख्या ह्वात्तै बढेर ८९६ पुगेको छ ।

सडक यातायात ऐनले स्थानीय सार्वजनिक सुरक्षा आयोगहरूलाई विशेष अधिकार प्रदान गरेको छ । जसअनुसार, यदि कुनै व्यक्तिले सडक यातायातमा गम्भीर खतरा निम्त्याउन सक्ने ठहर भएमा, निजले मोटरगाडी नचलाएको अवस्थामा (साइकल मात्र चलाएको भए पनि) ६ महिनासम्मका लागि उसको ड्राइभिङ लाइसेन्स निलम्बन गर्न सकिन्छ ।

गत वर्षको नोभेम्बर महिनादेखि लागू भएको संशोधित सडक यातायात ऐनले मादक पदार्थ सेवन गरी साइकल चलाउनुलाई दण्डनीय अपराधको दायरामा ल्याएको छ । अधिकारीहरूका अनुसार नयाँ नियम लागू भएसँगै यस्ता गतिविधिमाथि निगरानी बढाइएको छ, जसले गर्दा सार्वजनिक सुरक्षा आयोगहरूले लाइसेन्स निलम्बनको कारबाहीलाई तीव्रता दिएका हुन् ।

जापानमा अहिले वर्षको अन्त्यमा हुने पार्टी तथा जमघट (बोनेंकाई) को सिजन चलिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय प्रहरी एजेन्सीले मादक पदार्थ सेवन गरी साइकल चलाउँदा गम्भीर सवारी दुर्घटना हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रहरीले सवारी लाइसेन्स निलम्बन हुँदा मानिसको काम, रोजगारी तथा अन्य प्रतिबद्धताहरूमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै मदिरा सेवन गरेपछि साइकल नचलाउन सबैमा अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया