समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको दाबी गरे पनि थाइल्यान्डले कम्बोडियामाथि सैन्य कारबाही जारी रहने बताएको छ। थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले आफ्नो देशको भूमि र नागरिकलाई खतरा महसुस नभएसम्म कारबाही नरोकिने स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यो धारणा सार्वजनिक गरेका हुन्।
बैंककस्थित संयुक्त प्रेस केन्द्रका अनुसार थाई सेनाले बिहान करिब ६ बजे कम्बोडियाली सैन्य लक्ष्यहरूमाथि प्रतिशोधात्मक आक्रमण गरेको थियो। कम्बोडियाले भने थाई लडाकु विमानले आफ्ना भू–भागमा बम खसालेको आरोप लगाएको छ। थाई नौसेनाका प्रवक्ताले द्वन्द्व क्षेत्रमा हतियार ढुवानीमा प्रयोग हुँदै आएका कम्बोडियाका दुई पुल ध्वस्त पारिएको जानकारी दिएका छन्।
गत शुक्रबार ट्रम्पले दुवै देशका प्रधानमन्त्रीसँग फोनवार्ता गरेपछि तत्काल गोलीबारी रोक्ने सहमति भएको दाबी गरेका थिए। तर दुवै पक्षले एकअर्काले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्।
औपनिवेशिक कालमा तय गरिएको करिब ८ सय किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि झडप चर्किएको हो। यस द्वन्द्वबाट दुवै देशमा गरी करिब पाँच लाख मानिस विस्थापित भएका छन् भने पछिल्लो हप्तामा कम्तीमा २० जनाको ज्यान गएको छ।








