Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानको उत्तरपूर्वी क्षेत्रमा हालै गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पले विदेशी नागरिकहरूलाई सुरक्षा सल्लाह र सुरक्षित स्थानमा जान (इभ्याकुएसन) दिइने जानकारी अझ प्रभावकारी बनाउनुपर्ने टड्कारो आवश्यकतालाई उजागर गरेको छ । जापानमा विदेशी पर्यटकको आगमन ह्वात्तै बढिरहेको वर्तमान परिप्रेक्ष्यमा यो विषय थप पेचिलो बनेको हो ।

जापानको मौसम विज्ञान निकायले होक्काइडोको प्रशान्त तटीय क्षेत्र तथा आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गर्दा स्थानीय बासिन्दा र विदेशी आगन्तुक दुवैलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको थियो । तर, भाषा र सूचनाको पहुँचमा भएको समस्याका कारण धेरै विदेशीले सास्ती भोग्नुपर्यो । साप्पोरोको एक होटलमा बसिरहेका फिलिपिन्सका पर्यटक होजे सान जुआनले आफ्नो स्मार्टफोनमा भूकम्पको ‘अलर्ट’ त प्राप्त गरे, तर सुरक्षित रहन कहाँ जाने भन्ने जानकारी नहुँदा उनी अलमलमा परे । उनी भन्छन्, ‘अलर्ट आयो तर मलाई कहाँ भाग्ने भन्ने नै थाहा भएन, त्यसैले म निस्किन सकिनँ ।’

ह्योगो विश्वविद्यालयको ‘ग्राजुएट स्कुल अफ डिजास्टर रेजिलेन्स एण्ड गभर्नेन्स’ की प्राध्यापक मायुमी साकामोटो भन्छिन्, ‘विदेशीहरूलाई आपत्कालीन अवस्थामा कहाँ जाने भन्ने जस्ता महत्वपूर्ण जानकारीहरू तत्काल र उचित रूपमा सम्प्रेषण हुन सकिरहेको छैन ।’

होटलका एक कर्मचारीका अनुसार, भूकम्पको धक्का महसुस हुँदा होक्काइडोको ‘जेआर इन हाकोदाते’ होटलमा धेरैजसो विदेशी पाहुनाहरू थिए । ५ म्याग्निच्युडको धक्का महसुस गरिएको उक्त क्षेत्रमा होटलले पाहुनाहरूलाई सुनामीबाट बच्न माथिल्लो तलामा जान जापानी र अंग्रेजी भाषामा निर्देशन दिएको थियो । तर, अन्योलका कारण केही पाहुनाहरू माथि जानुको सट्टा पहिलो तल्लाको लबीमा ओर्लिएका थिए ।

हाकोदातेकै अर्को एक आवास गृहमा भने सूचनाहरू ह्वाइटबोर्डमा टाँसिएको थियो, तर त्यो केवल जापानी भाषामा मात्र थियो । त्यहाँ रहेकी एक दक्षिण कोरियाली महिलाले मोबाइल एपमार्फत उक्त सूचनाको फोटो खिचेर कोरियन भाषामा अनुवाद गरी बल्ल कुरा बुझिन् ।

प्राध्यापक साकामोटोका अनुसार जापानले विदेशी आगन्तुकहरूलाई आगमनकै क्रममा बहुभाषी एप र वेबसाइटहरूबारे जानकारी गराउँदै, विपद्का बेला सहज रूपमा महत्वपूर्ण सूचना प्रवाह गर्ने प्रणाली तत्काल विकास गर्नुपर्ने देखिन्छ ।

जापान राष्ट्रिय पर्यटन संगठनको तथ्याङ्क अनुसार गत वर्ष जापानमा कीर्तिमानी ३ करोड ६८ लाख ७० हजार विदेशी पर्यटक भित्रिएका थिए भने यस वर्षको अक्टोबरसम्ममा यो संख्या ३ करोड ५५ लाख ४० हजार पुगिसकेको छ । बढ्दो पर्यटक संख्यासँगै उनीहरूको सुरक्षाका लागि सूचना प्रणालीमा सुधार अपरिहार्य देखिएको छ ।

तपाईको प्रतिक्रिया