टोकियो – बेइजिङ र टोकियोबीचको बढ्दो कूटनीतिक तनावका बाबजुद जापान, चीन र दक्षिण कोरियाका प्रतिनिधिहरू बीच आइतबार सियोलमा स्वास्थ्य मन्त्रीस्तरीय वार्ता हुने भएको छ । जापानी सरकारले शुक्रबार एक घोषणा गर्दै उक्त जानकारी दिएको हो ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार बैठकमा मन्त्री केनिचिरो वेनो सहभागी हुनेछन् । यद्यपि, जापानी सरकारी स्रोतलाई उद्धृत गर्दै बताइए अनुसार, चीनले भने आफ्ना मन्त्रीको सट्टा स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई मात्र पठाउने निर्णय गरेको छ ।
ताइवान मामिलामा जापानी प्रधानमन्त्री सानाई ताकाइचीले दिएको अभिव्यक्तिका कारण जापान र चीनबीचको सम्बन्धमा पछिल्लो समय चिसोपना आएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ र ताइवानको मुद्दा नितान्त आफ्नो आन्तरिक मामिला भएको दाबी गर्छ । यही कूटनीतिक खटपटका कारण चीनले यसअघि नोभेम्बरमा मकाउमा तय गरिएको तीन देशका संस्कृति मन्त्रीहरूको बैठकसमेत स्थगित गरेको थियो ।
यद्यपि, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जापानी स्वास्थ्य मन्त्री वेनोले तीन राष्ट्रबीचको निरन्तर सहयोगात्मक सम्बन्धलाई पुनः पुष्टि गर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् । मन्त्री वेनो शनिबारदेखि दुईदिने भ्रमणका लागि दक्षिण कोरियाको सियोल प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सन् २००७ देखि यी तीन एसियाली मुलुकका स्वास्थ्य मन्त्रीहरूको त्रिपक्षीय बैठक झन्डै हरेक वर्ष आयोजना हुँदै आएको छ ।








