-
यी हुन् पुरुषभन्दा महिला कामदारको रोजाइमा परेका गन्तव्यहरू
काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपालीहरूको लर्कोमा सङ्ख्यात्मक रूपमा पुरुषहरूकै वर्चस्व देखिन्छ । तर, पछिल्ला सरकारी तथ्याङ्कहरू केलाउँदा केही यस्ता श्रम गन्तव्यहरू देखिएका छन्, जहाँ रोजगारीका लागि जानेमा पुरुषभन्दा महिलाको सङ्ख्या अधिक छ ।
सरकारी तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ७ लाखभन्दा बढी पुरुष विदेशिँदा महिलाको सङ्ख्या एक लाखको हाराहारीमा (९४ हजार) मात्र थियो । तर, इजरायल, जोर्डन, माल्दिभ्स र साइप्रसजस्ता मुलुकमा भने श्रम स्वीकृति लिनेमा महिलाहरू अगाडि देखिएका छन् ।
युद्धको चपेटामा परेर शान्ति प्रक्रियामा फर्कँदै गरेको इजरायल नेपाली महिलाहरूको प्रमुख रोजाइमा परेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार गत वर्ष ४२३ जना महिलाले इजरायलका लागि श्रम स्वीकृति लिँदा सोही अवधिमा जाने पुरुषको सङ्ख्या ३६५ मात्र थियो ।
इजरायल विशेष गरी ‘केयरगिभर’ (स्याहारसुसार) का लागि आकर्षक गन्तव्य हो । विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीका अनुसार इजरायलबाट ६० प्रतिशत महिला कामदारको माग आउँदा पुरुषको माग ४० प्रतिशत मात्र हुने गरेको छ । यद्यपि, गाजा द्वन्द्वका कारण छनोट भएर पनि करिब ४० प्रतिशत कामदारले प्रक्रिया रद्ध गरेको सरकारी अधिकारीहरू बताउँछन् ।
त्यस्तै, मध्यपूर्वको देश जोर्डनमा पनि महिला कामदारको बाहुल्यता छ । गत वर्ष ११० जना पुरुष जोर्डन जाँदा १,६९८ जना महिलाले श्रम स्वीकृति लिएका थिए । चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्रै पनि ५ जना पुरुषको तुलनामा १४२ जना महिला जोर्डन उडेका छन् ।
माल्दिभ्स र साइप्रस: हस्पिटालिटी क्षेत्रको आकर्षण
पछिल्लो समय पर्यटकीय मुलुक माल्दिभ्स र युरोपेली राष्ट्र साइप्रसमा पनि नेपाली महिलाको आकर्षण बढेको छ । गत कात्तिक महिनाको तथ्याङ्क हेर्दा माल्दिभ्स जानेमा पुरुषभन्दा महिला धेरै देखिएका छन् ।
विभागका प्रवक्ता शिवाकोटीका अनुसार माल्दिभ्समा होटल, रेस्टुरेन्ट तथा मनोरञ्जन क्षेत्रमा महिला कामदारको उच्च माग छ । ‘माल्दिभ्स नयाँ र सुरक्षित श्रम गन्तव्यका रूपमा विकास भइरहेको छ,’ शिवाकोटी भन्छन् ।
माल्दिभ्स सरकारले नेपाली नर्सहरू लैजान समेत इच्छा देखाएको छ । श्रमविज्ञ मीना पौडेलका अनुसार माल्दिभ्स र साइप्रस विशेष गरी ‘हाउसकिपिङ’, ‘लन्ड्री सर्भिस’ र अतिथि सत्कार (हस्पिटालिटी) का लागि महिलाहरूको रोजाइमा परेका हुन् । साइप्रसमा क्याफे तथा सेवा क्षेत्रमा काम गर्न जाने महिलाको सङ्ख्या उल्लेख्य छ ।
विज्ञहरूका अनुसार विदेश जाने महिलाहरू अधिकांश परम्परागत भूमिकाकै काममा सीमित देखिन्छन् । श्रमविज्ञ पौडेल भन्छिन्, ‘नेपाली समाजमा महिलाले घरभित्र जे काम गर्छन्, विदेशमा पनि तिनै प्रकृतिका कामका लागि उनीहरूको माग हुने गरेको छ ।’
जोर्डनमा गार्मेन्ट (पोसाक) उद्योगमा ठूलो सङ्ख्यामा नेपाली महिला कार्यरत छन् भने घरेलु कामदारका रूपमा जानेको सङ्ख्या पनि ठूलो छ । यद्यपि, घरेलु काममा जानेहरूमाथि शोषण र जोखिमको सम्भावना पनि उत्तिकै रहेको विज्ञहरू औँल्याउँछन् । अनुसन्धानकर्ता अर्जुन खरेलका अनुसार जोर्डनको गार्मेन्ट क्षेत्रमा आवाससहितको सुविधा हुने भएकाले महिला कामदारको माग उच्च छ ।
सरकारी तथ्याङ्कमा महिलाको सङ्ख्या कम देखिनुको अर्को कारण ‘भिजिट भिसा’ र अवैध बाटोको प्रयोग पनि हो । सरकारले घरेलु कामदारका रूपमा जान रोक लगाए पनि सेटिङ मिलाएर वा भिजिट भिसामा गएर काम गर्नेहरूको सङ्ख्या ठूलो हुनसक्ने विज्ञहरूको अनुमान छ ।
युरोपका रोमानिया, क्रोएसियाजस्ता देशमा पनि वार्षिक तीन हजारभन्दा बढी महिला पुगिरहेका छन् । युरोपको बसाईलाई प्रतिष्ठाको विषय मानिने र स्थायी बसोबास (पीआर) को सम्भावना हुने हुँदा धेरैको आकर्षण यता बढेको अनुसन्धानकर्ता खरेल बताउँछन् ।
मध्यपूर्वका युएई, कुवेत र कतारमा अझै पनि सेवा क्षेत्रमा जाने महिलाको सङ्ख्या उच्च छ । गत वर्ष मात्रै युएईमा ३२ हजार, कुवेतमा १२ हजार र कतारमा १० हजार महिला श्रम स्वीकृति लिएर पुगेका छन् । युएईले घरेलु कामदार लैजान प्रस्ताव गरे पनि संसदीय समितिले लगाएको रोक र कानुनी जटिलताका कारण तत्कालै संस्थागत रूपमा घरेलु कामदार पठाउने बाटो खुल्ने सम्भावना कम रहेको श्रमविज्ञ पौडेलको भनाइ छ ।








