समाचार सुन्नुहोस :
काठमाडौँ – जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुँदैछ। फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै सिधै फाइनल पुगेको हो। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोलीले यसपटक उपाधि जित्ने लक्ष्य लिएको छ। गत वर्ष जनकपुरसँग फाइनलमा पराजित भएको सुदूरपश्चिमले यो वर्ष उपाधि जित्ने दाउमा रहेको छ। लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनल स्थान बनाएको हो। रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक ट्रफी जित्नै पर्ने मनस्थितिमा छ।
लिग चरणमा दुइ बीचको खेलमा सुदूरपश्चिम ७ विकेटले विजयी भएको थियो। प्रतियोगिताको विजेताले १ करोड १० लाख, उपविजेताले ५१ लाख, तेस्रो र चौथो हुने टोलीले क्रमशः २५ लाख र १५ लाख पुरस्कार पाउनेछन्। प्रतियोगितामा आठ टोली सहभागी थिए।








