Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – अमेरिकी म्यागेजिन ‘फोर्ब्स’ ले सन् २०२५ का लागि विश्वका १०० शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको उक्त सूचीमा जापानकी प्रधानमन्त्री सानाई ताकाइची विश्वकै तेस्रो शक्तिशाली महिलाको रूपमा सूचीकृत भएकी हुन् ।

जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइची वरीयतामा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयन र युरोपेली केन्द्रीय बैंककी प्रमुख क्रिस्टिन लागार्डभन्दा पछि छिन् । उर्सुला र लागार्ड क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी चौथो स्थानमा छिन् ।

आफ्नो २२औं वार्षिक वरीयता सार्वजनिक गर्दै फोर्ब्सले यसपटकको सूचीमा परेका महिलाहरूले ‘विश्वव्यापी नेतृत्वको नयाँ अध्याय’ प्रतिनिधित्व गरेको उल्लेख गरेको छ । म्यागेजिनका अनुसार यी महिलाहरू सीमा तोड्ने नवप्रवर्तन, भू-राजनीतिक प्रभाव, सांस्कृतिक रूपान्तरण र कीर्तिमानी आर्थिक प्रदर्शनका संवाहक हुन् ।

फोर्ब्सले ताकाइचीबारे लेखेको छ, ‘गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले ४.२ ट्रिलियन डलरको विशाल अर्थतन्त्रको नेतृत्व गरिरहेकी छिन् । सेमिकन्डक्टर (अर्धचालक) सुरक्षा, रक्षा पुनर्संरचना र जनसांख्यिकीय दबाबजस्ता चुनौतीहरू एकैसाथ आएको समयमा उनले लिएका निर्णयहरूले पूर्वी एसियाको शक्ति सन्तुलन र विश्वव्यापी उत्पादन स्थिरतालाई आकार दिनेछ ।’

म्यागेजिनले आफ्नो प्रोफाइल पेजमा ताकाइचीलाई ‘कठोर अनुदारवादी’ (हार्ड-लाइन कन्जरभेटिभ) नेताको रूपमा चित्रण गरेको छ, जसले पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो राजनीतिक आदर्श मान्छिन् । ‘विश्वको चौथो ठूलो अर्थतन्त्रले मुद्रास्फीति र ज्याला स्थिरताजस्ता परिचित चुनौतीहरूको सामना गरिरहेको बेला ताकाइचीले नेतृत्व सम्हालेकी छिन्,’ फोर्ब्सले उल्लेख गरेको छ ।

सार्वजनिक सूचीमा २५ देशका विभिन्न पेसामा आबद्ध महिलाहरू समेटिएका छन्, जसमध्ये ४४ प्रतिशत सीईओहरू छन् । सूचीमा रहेका आधाभन्दा बढी महिला उत्तर अमेरिकाका छन् । निजी क्षेत्रबाट सबैभन्दा माथिल्लो वरीयतामा (छैठौं स्थान) विश्वव्यापी परामर्शदाता कम्पनी ‘एक्सेन्चर’ की प्रमुख कार्यकारी अधिकृत जुली स्विट परेकी छिन् ।

जापानबाट यो सूचीमा पर्ने ताकाइची एकमात्र महिला हुन् । पूर्वी एसियाबाट चीनको ई-कमर्स दिग्गज ‘जेडी डटकम’ की स्यान्डी रान सु र सिंगापुरको बैंकिङ समूह ‘डीबीएस’ की तान सु शान लगायतका महिलाहरू पनि प्रभावशाली महिलाको सूचीमा अटाएका छन् ।

तपाईको प्रतिक्रिया