काठमाडौं – वैदेशिक रोजगारीका लागि आकर्षक र सुरक्षित गन्तव्य मानिने जापान पछिल्लो समय नेपाली युवाहरूका लागि ‘पासो’ बन्न थालेको छ । ‘वर्किङ भिसा’का नाममा मोटो रकम असुलेर जापान पुर्याउने तर त्यहाँ पुगेपछि अलपत्र पार्ने गिरोह सक्रिय भएसँगै ठगीका घटना ह्वात्तै बढेका हुन् ।
विशेषगरी ‘कुक’ (भान्से) को काममा लगाइदिने प्रलोभनमा पारी एजेन्ट तथा ट्राभल कम्पनीहरूले सोझासाझा युवाहरूबाट १० देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । तर, लाखौं ऋण काढेर जापान ओर्लिएका नेपालीहरू काम नपाएर सडकमै भोकभोकै भौंतारिनुपर्ने दर्दनाक अवस्था सिर्जना भएको छ । वैदेशिक रोजगार उद्धार नेपालका अनुसार, जापानमा अलपत्र परेका नेपालीहरूबाट दैनिकजसो उद्धारका लागि फोन आउने गरेको छ ।
संस्थाका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार ह्वाट्सएप र मोबाइलमा दैनिक ३ देखि ४ जना पीडितले रुँदै फोन गर्ने गरेका छन् । ‘हामीलाई खान र बस्न समेत समस्या भयो, सडकमै बास हुने भयो भन्दै उद्धारको याचना आउँछ,’ अध्यक्ष गोलेले भने । उनका अनुसार व्यक्तिगत श्रम स्वीकृति लिएर जाने र त्यहाँ पुगेपछि भनेजस्तो काम नपाउने समस्या विकराल बन्दै गएको छ ।
भाषा नजान्दाको सास्ती
जापानमा रहेका नेपालीहरूले नै सञ्चालन गरेका रेष्टुरेन्टमा काम लगाइदिने भन्दै नेपालबाट युवाहरू पठाइन्छ । तर, भाषा र सीप बिनै जाने हुँदा समस्या जटिल बन्ने गरेको छ । अध्यक्ष गोले भन्छन्, ‘नेपाली साहुले धोका दिएपछि उनीहरू अन्यत्र काम खोज्न सक्दैनन् । भाषा नजानेपछि जापानी वा अन्य विदेशीका होटलले काम दिँदैनन् । अन्ततः काम र दामविहीन भएर सडकमा भौंतारिनुको विकल्प रहँदैन ।’
ठगीको जालोमा परेर लाखौं रकम गुमाई स्वदेश फर्कनेहरूको कथा वेदनापूर्ण छ । पाल्पाका कुमार शर्मा (नाम परिवर्तन) १२ लाख ६० हजार रुपैयाँ दलाललाई बुझाएर सात महिनाअघि जापान पुगेका थिए । तर, सात महिनासम्म कुनै काम नपाएपछि उनी भर्खरै नेपाल फर्किएका छन् । अहिले उनी एजेन्टविरुद्ध कानुनी लडाइँमा छन् ।
उस्तै नियति रामेछापका श्याम अधिकारी (नाम परिवर्तन) ले पनि भोगे । १८ लाख रुपैयाँ खर्चेर सुनौलो भविष्यको सपना बोकी जापान उडेका उनी ६ महिनासम्म बेरोजगार भए । अन्त्यमा, घरबाटै पैसा मगाएर टिकट काट्दै उनी नेपाल फर्किन बाध्य भए ।
विभागमा कम उजुरी
यति धेरै युवा बिचल्लीमा पर्दा पनि सरकारी निकायमा भने यसको यकिन तथ्यांक छैन । वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार जापान जानेहरू ठगिएको भन्दै उजुरी लिएर आउनेको संख्या अन्य देशको तुलनामा न्यून छ । ‘ठगीमा परेको भन्दै निवेदन त आउँछन्, तर जापानको केसमा पीडितहरू खुलेर कमै मात्र आउने गरेका छन्,’ उनले भने ।
सरोकारवालाहरूका अनुसार भाषा परीक्षा पास गरेर र सीप सिकेर मात्र जापान जानु बुद्धिमानी हुन्छ । व्यक्तिगत भिसाको आवरणमा हुने मानव तस्करी र ठगीबाट बच्न बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।








