समाचार सुन्नुहोस :
काठमाडौँ – अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यससँगै अस्ट्रेलिया यस्तो रोक लागू गर्ने विश्वको पहिलो देश बनेको छ।
अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुकजस्ता सामाजिक सञ्जाल प्लेटफर्म खोल्न वा प्रयोग गर्न पाउने छैनन्। सरकारका अनुसार बालबालिकाको स्वास्थ्य, गोपनीयता र अनलाइन सुरक्षालाई ध्यानमा राखेर यो कदम उठाइएको हो। नियम उल्लंघन गर्ने कम्पनीलाई भारी जरिबाना तिर्नुपर्नेछ।
नोभेम्बर २०२४ मा पारित कानुन अनुसार उल्लंघन गर्ने कम्पनीहरूलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्म जरिवाना लगाइने व्यवस्था छ। अनलाइनमा बालबालिकाको सुरक्षाबारे चिन्ता बढेसँगै अन्य धेरै देशले पनि यस्ता उपाय अपनाउनेबारे गम्भीर रूपमा छलफल गरिरहेका छन्।








