Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – चर्चित चलचित्र शृङ्खला ‘टोकियो रिभेन्जर्स’ मार्फत ख्याति कमाएका जापानी अभिनेता हिरोया सिमिजुले गाँजा (मारिजुआना) राखेको आरोप स्वीकार गरेका छन् । सोमबार टोकियो जिल्ला अदालतमा भएको पहिलो सुनुवाइका क्रममा उनले आफूमाथि लागेको अभियोग स्वीकार गरेका हुन् ।

सुनुवाइका क्रममा अभियोजन पक्षले २६ वर्षीय अभिनेता सिमिजुलाई एक वर्षको जेल सजायको माग गरेको छ । यता, अभिनेताका कानुन व्यवसायी (बचाउ पक्ष) ले भने निलम्बित सजाय (सस्पेन्डेड टर्म) को अनुरोध गरेका छन् । अदालतले यस मुद्दामा आगामी डिसेम्बर १९ मा फैसला सुनाउने तय गरेको छ ।

अभियोजन पक्षले अदालतमा पेस गरेको बयान अनुसार, सिमिजुले अमेरिकामा भाषा अध्ययन गर्ने क्रममा साथीले आयोजना गरेको ‘हाउस पार्टी’ मा पहिलो पटक गाँजा सेवन गरेका थिए । जापान फर्किएपछि उनले एक परिचित व्यक्तिमार्फत डिलरसँग गाँजा खरिद गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुनुवाइको क्रममा सिमिजुले ‘तनाव कम गर्न र आराम महसुस गर्न’ गाँजा प्रयोग गरेको बताए । उनले आफ्नो कार्यप्रति गहिरो पश्चात्ताप व्यक्त गर्दै भविष्यमा फेरि कहिल्यै प्रयोग नगर्ने वाचासमेत गरेका छन् । न्यायाधीश सोजी मियाताले अभिनय क्षेत्रमा फर्किने योजनाबारे सोधेको प्रश्नमा सिमिजुले भने, ‘एक अभिनेताले एक्लै केही गर्न सक्दैन । म मेरा शुभचिन्तक र वरपरका व्यक्तिहरूसँग छलफल गरेर मात्र आफ्नो भविष्यबारे सोच्नेछु ।’

अभियोग पत्रअनुसार, गत सेप्टेम्बर ३ मा प्रहरीले टोकियोको सुगिनामी वार्डस्थित उनको निवासमा छापा मार्दा ०.३९२ ग्राम गाँजा बरामद गरेको थियो । प्रहरीले टेबुलमा बोटबिरुवाजन्य पदार्थ र रोलिङ पेपरहरू फेला पारेपछि उनलाई सोही दिन उनीसँगै बस्ने एक महिलासहित पक्राउ गरेको थियो ।

सिमिजुले गाँजा प्रयोग गरिरहेको भन्ने सूचना प्रहरीले गत जनवरीमा नै प्राप्त गरेको थियो, जसको आधारमा अनुसन्धान अघि बढाइएको थियो । हिरोया सिमिजु लोकप्रिय मान्गा शृङ्खलामा आधारित ‘लाइभ-एक्सन’ चलचित्र ‘टोकियो रिभेन्जर्स’ मा अभिनय गरेर चर्चामा आएका थिए । यसका साथै, परम्परागत जापानी कार्ड खेलमा आधारित कमिक बुकको रूपान्तरण ‘चिहायाफुरु’ चलचित्र शृङ्खलामा पनि उनको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया