समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेस्टुरेन्टमा आइतबार बिहान आगलागी भएको छ। काठमाडौँ महानगरपालिका–२६, बुधबारे गल्लीमा निर्माणाधीन ‘वर्क इट पप’ रेस्टुरेन्टमा बिहान १०:३० बजे आगो लागेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी वृत्त लैनचौरका प्रमुख डिएसपी जागेश्वर भण्डारीका अनुसार विद्युत् सर्टका कारण लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको हो। आगो निभाउन नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका दुई दमकलको सहयोग लिइएको उनले बताए। अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। क्षतिको विस्तृत विवरण प्रहरीले संकलन भइरहेको जनाएको छ।








