समाचार सुन्नुहोस :
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अब देशको नेतृत्व सम्हाली सिंगो राष्ट्रलाई उज्यालो बनाउने लक्ष्य रहेको बताएका छन्। सुनापती गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन समारोहमा उनले ऊर्जा क्षेत्रमा काम गरेर देशलाई उज्यालो बनाइसकेको उल्लेख गर्दै, अब राजनीतिक नेतृत्वमार्फत व्यापक परिवर्तन ल्याउन चाहेको बताए।
हालको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै उनले फागुन २१ को निर्वाचनमा जिम्मेवार ढंगले मतदान गर्न आग्रह गरे। केही दिनअघि उनले ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरेका थिए। देशभरि विद्युत् पुर्याएको दाबी गर्दै उनले रोजगारी, सुशासन र नागरिक हितका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताए।
२०७७ मंसिरमा शिलान्यास भएको अस्पताल एक वर्षदेखि सेवा दिँदै आए पनि औपचारिक उद्घाटन अहिले गरिएको हो। ७ करोड ९० लाख रुपैयाँ खर्चमा बनेको यो अस्पताल बिएनबिआरएनसिएफ जेभीले निर्माण गरेको हो।








