Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २८, २०८३
Thursday, June 11, 2026

काठमाडौं – नेपाललाई सिंगापुर र स्विट्जरल्याण्ड बनाउने सपना देखाएर दशकौं राजनीति गरेका ‘पुराना नेताहरू’ र तिनका दलप्रतिको वितृष्णा चुलिँदै जाँदा मुलुकमा नयाँ दल खोल्ने होडबाजी चलेको छ ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत पूराना सबैजसो शीर्ष नेताहरुले घर-घरमा ग्यास पाइप, पानीजहाज र समृद्धिको सपना बाँडे पनि व्यवहारमा नदेखिएपछि जनतामा निराशा छायो । यही निराशाको जगमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेले छोटो समयमै उतारचढाव भोगेको पृष्ठभूमिमा अब नयाँ एजेन्डासहितका दलहरू मैदानमा उत्रिएका हुन् ।

गत भदौको ‘जेनजी’ आन्दोलनपछि दल दर्ताको नयाँ लहर नै चलेको छ । यसै क्रममा धरानका मेयर हर्क साम्पाङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको संरक्षकत्वदेखि दलित र यौनिक अल्पसंख्यक समुदायसम्मले आ-आफ्नै मुद्दा बोकेर नयाँ दलमार्फत हस्तक्षेपको घोषणा गरेका छन् ।

हर्कको ‘हर्कवाद’ : हप्तामा तीन दिन पढाइ, चार दिन श्रम
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘श्रम संस्कृति पार्टी’ गठन गर्दै ‘हर्कवाद’ लाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गरेका छन् । नेता कुर्सीमा होइन, हिलो र धुलोमा भेटिनुपर्ने मान्यता राख्ने साम्पाङले अभाव, गरिबी र विभेद अन्त्यका लागि अनिवार्य श्रमदानको नीति अघि सारेका छन् ।

साम्पाङको पार्टीले निकै महत्त्वाकांक्षी र नौला एजेन्डाहरू सार्वजनिक गरेको छ । जसमा कक्षा १२ सम्मका विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने, १२ कक्षा पास गरेपछि अनिवार्य सैनिक तालिम दिइने र हप्तामा तीन दिन मात्र पढाएर बाँकी चार दिन उत्पादन र साहित्यमा लगाइने उल्लेख छ । ‘म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा र धुलोमा भेटिनेछु,’ साम्पाङले भने, ‘धनीबाट बढी कर लिएर गरिबलाई बचाउने तथा एक घर एक स्वरोजगार नीति हाम्रो प्राथमिकतामा छ ।’

कुलमानको दाबी- ‘संकटमा मेरो खोजी भयो, अब देशको नेतृत्व गर्छु’
विद्युत प्राधिकरणमा लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका कुलमान घिसिङको संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ दर्ता भएको छ । पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा घिसिङले आफूलाई देशले संकटको समयमा मात्र खोज्ने गरेको बताउँदै अब देशकै नेतृत्व गर्ने बेला आएको संकेत गरे ।

‘संस्थाभित्र क्राइसिस आउँदा मेरो खोजी भएको छ, लोडसेडिङ अन्त्य गर्ने मौका पाएँ,’ घिसिङले भने, ‘यहाँबाट हिँडेपछि अब देशकै लिड गर्नुपर्छ जस्तो लागेको छ ।’ उज्यालो नेपाल पार्टीले संविधान संशोधनको ७ बुँदे एजेन्डा अघि सार्दै प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने र मन्त्री बन्न सांसद नभई विज्ञ हुनुपर्ने प्रस्ताव गरेको छ ।

पहिचान र आत्मसम्मानका लागि दुई नयाँ दल
राजनीतिक मूलधारमा सीमान्तकृत समुदायको उपस्थितिलाई बलियो बनाउन दलित र लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको नेतृत्वमा पनि नयाँ दलहरू थपिएका छन् । खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ र नुमा लिम्बूको नेतृत्वमा ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएका हुन् ।

जाजरकोटको भेरी नदीमा नवराज विकसहित ६ जनाको हत्या भएपछिको आन्दोलनलाई संस्थागत गर्न दल खोलेको अध्यक्ष खगेन्द्र सुनारले बताए । ‘हिजो सडकमा उठाएका पीडा र अपमानका मुद्दालाई अब संसद्सम्म पुर्‍याउन आएका हौँ,’ सुनारले भने । उनले करिब ६० लाख दलित समुदायको हकहितका लागि आफू स्वयं उम्मेदवार बन्ने घोषणा पनि गरे ।

त्यस्तै, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान बोकेको ‘समावेशी समाजवादी पार्टी’ नेपालको इतिहासमै यस प्रकारको पहिलो दल बनेको छ । पार्टीकी सचिव सन्ध्या लामाले गणतन्त्र आए पनि आफ्नो समुदायको आवाज कसैले नसुनेकाले बाध्य भएर दल खोल्नुपरेको बताइन् । ‘हाम्रो आवाज अरूले उठाइदेलान् भनेर वर्षौँ प्रतीक्षा गर्‍यौँ, तर भएन,’ लामाले भनिन् । पार्टीले समलिंगी विवाह, नागरिकतामा पहिचान र सामाजिक सुरक्षा भत्तालाई मुख्य एजेन्डा बनाएको छ ।

पुराना दलहरूको परम्परागत कार्यशैली र बाचाहरूबाट वाक्क भएका नागरिकसामु उदाएका यी नयाँ दलहरूले आगामी निर्वाचनमा कस्तो प्रभाव जमाउने हुन्, त्यो भने हेर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया