टोकियो – जापानको मियागी प्रान्तस्थित कुरुहारा शहरमा एक ३१ वर्षीय भियतनामी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कार्यस्थलमा आफ्नै सहकर्मीमाथि फलामको पाइपले आक्रमण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो ।
स्थानीय सञ्चार माध्यम टीबीएसका अनुसार, घटना साँझ करिब ५:५० बजे भएको थियो । कम्पनीको वर्कसप (कारखाना)भित्रै अभियुक्तले ३० को दशकका अर्का सहकर्मीको टाउको र कम्मरमा फलामको पाइपले प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट पीडितको हड्डी भाँचिएको छ, यद्यपि उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
घटनालगत्तै वर्कसपमा कार्यरत अर्का एक कर्मचारीले प्रहरीको आपतकालीन नम्बर ११० मा फोन गरी दुई कर्मचारीबीच झगडा भएको र एक जना घाइते भएको जानकारी गराएका थिए । प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा ती भियतनामी युवाले ‘काम गर्ने तरिकाको विषयमा विवाद हुँदा झगडा भएको’ स्वीकार गरेका छन् ।








