समाचार सुन्नुहोस :
काठमाडौँ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन्। दिल्लीको पालम विमानस्थलमा अवतरण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं स्वागत गरेका थिए।
विमानस्थलमा उनीहरूले हात मिलाएर अंगलोसमेत मारे। औपचारिक स्वागतपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदी एउटै गाडीमा बसेर कल्याण मार्गतर्फ गएका थिए, जहाँ मोदीको सरकारी निवास पनि छ। भारतीय समाचार एजेन्सीका अनुसार कल्याण मार्गमै राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले औपचारिक स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो।
राष्ट्रपति पुटिन २३औं भारत–रुस सम्मेलनमा सहभागी हुन भारत आएका हुन्। शुक्रबार हुने सम्मेलनमा पुटिन र मोदी दुवै सहभागी हुनेछन्। बैठकमा दुई देशबीच विभिन्न विषयमा समझदारी हुने भारतीय एजेन्सीहरूले जनाएको छ।








