Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानको उत्तरपूर्वी आकिता प्रिफेक्चरमा जङ्गली भालुहरू बारम्बार देखिन थालेपछि त्यहाँका प्रसिद्ध ‘हट स्प्रिङ’ (तातो पानीका कुण्ड वा ओन्सेन) रिसोर्टहरूमा बुकिङ रद्द गर्ने क्रम ह्वात्तै बढेको छ ।

ओदाते शहरमा रहेको १३० वर्षभन्दा पुरानो इतिहास बोकेको एक प्रतिष्ठित ‘इन’ (Inn/रिसोर्ट) मा अक्टोबरको मध्यदेखि हालसम्म ३०० भन्दा बढी बुकिङ रद्द भइसकेका छन् । खुला आकाशमुनि नुहाउन मिल्ने ‘ओपन-एयर बाथ’का लागि यो रिसोर्ट निकै लोकप्रिय मानिन्छ । छिमेकी प्रिफेक्चर इवातेको एक तातो पानीको कुण्ड भएको रिसोर्टमा भालुको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएपछि अक्टोबर महिनादेखि नै यस क्षेत्रमा त्रास फैलिएको हो ।

सोही घटनापछि बुकिङ रद्द हुने क्रम तीव्र रूपमा बढेको बताइएको छ । भालुलाई टाढै राख्न ओदातेस्थित उक्त रिसोर्टले आफ्नो परिसरमा रहेका कटुसका रुखहरू काट्नुका साथै झाडीहरू सफा गरेको छ। यति गर्दा पनि अक्टोबर महिनाको व्यापार अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले घटेको रिसोर्टका अध्यक्षले जानकारी दिए । पाहुना र कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै रिसोर्टले थप सुरक्षा उपायहरू अपनाएको छ, जसमा परिसर वरपर बार लगाउने कार्य समावेश छ । अत्यन्तै मनोरम दृश्यका लागि चिनिएको उक्त स्थानमा बार लगाउनु व्यवस्थापनका लागि सहज निर्णय भने थिएन ।

स्नानगृहसम्म जाने बाहिरी करिडोरमा अवरोधहरू खडा गरिएका छन्। साथै, पाहुनाहरूको ‘चेक-इन’ र ‘चेक-आउट’ को समयमा (दिनको दुई पटक) भालु तर्साउन पटका पड्काउने गरिएको छ । सुरक्षाका यी उपायहरू अपनाउन रिसोर्टले यस सिजनमा मात्रै १० लाख जापानी येन (करिब ६,५०० अमेरिकी डलर) भन्दा बढी खर्च गरिसकेको छ । हिकागे ओन्सेनका अध्यक्ष इसिकावा ताकाशीले भने, ‘पर्यटकीय सिजनको मुख्य समयमै यसरी बुकिङ रद्द हुनु हाम्रा लागि ठूलो झड्का हो ।’

कोरोना महामारीको प्रभाव सकिएर व्यवसाय तंग्रिन खोजेकै बेला यस्तो समस्या आउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए । अध्यक्ष इसिकावाका अनुसार, पाहुनाहरूले निडर भएर मनोरञ्जन लिन सकून् भन्नका लागि भालुलाई भगाउने नियमित उपायहरू अपनाउनु बाहेक व्यवसायसँग अहिले अर्को विकल्प छैन ।

तपाईको प्रतिक्रिया