समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी प्रदर्शनका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिएको छ। मंसिर १७ र १८ मा सिंहदरबारस्थित आयोग कार्यालयमा बोलाएर दुई दिन सोधपुछ गरिएको आयोगको स्रोतले जनाएको छ।
भदौ २३ र २४ मा बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा किशोरको मृत्यु हुने गरी गोली चलाउने निर्देशन दिएको आरोपपछि रिजालको व्यापक आलोचना हुँदै आएको छ। सोधपुछका केही प्रश्न बाँकी भएकाले उनलाई फेरि बोलाइने आयोगको एक सदस्यले जानकारी दिए।
गौरीबहादुर कार्कीको संयोजकत्वमा रहेको आयोगले यसअघि सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, एआईजी सिद्धिविक्रम शाह, अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा लगायतसँग पनि बयान लिइसकेको छ। आयोगका अनुसार हालसम्म करिब १५० जनासँग बयान तथा सोधपुछ प्रक्रिया पूरा भइसकेको छ।








