टोकियो – जापानको विश्वव्यापी निर्यात अक्टोबर महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार जापानी सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार, सोही अवधिमा आयातमा भने ०.६ प्रतिशतको सामान्य सुधार देखिएको छ ।
जापानको समग्र निर्यात बढे पनि प्रमुख व्यापारिक साझेदार संयुक्त राज्य अमेरिकार्तफको निर्यातमा भने ३.१ प्रतिशतको गिरावट आएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार, वार्षिक रूपमा अमेरिकातर्फको निर्यात घटेको यो लगातार सातौं महिना हो । यसको मुख्य कारण अमेरिकाले जापानी वस्तुहरूमा लगाएको उच्च भन्सार शुल्क (ट्यारिफ) मानिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा घोषणा गरेको नयाँ व्यापारिक संरचनाअनुसार जापानबाट आयात हुने वस्तुहरूमा १५ प्रतिशत कर लगाइएको छ । यद्यपि, यो ट्रम्पले सुरुमा अगस्टदेखि लागू हुने भनी चेतावनी दिएको २५ प्रतिशतभन्दा कम हो । यसअघि अधिकांश वस्तुहरूमा करिब २.५ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने गर्दथ्यो ।
अमेरिका जापानको प्रमुख मित्रराष्ट्र र साझेदार भएकाले, निर्यातमा आधारित जापानी अर्थतन्त्रका लागि यो कर वृद्धि ठूलो बोझ बनेको छ । तर, अन्य एसियाली मुलुकहरूमा बढेको निर्यातले अमेरिकी बजारमा भएको नोक्सानीलाई परिपूर्ति गर्न सघाएको देखिन्छ ।
आयात-निर्यातको अवस्था
तथ्यांकअनुसार जापानले विश्व बजारबाट भटमास (सोयाबिन) को आयात ३७.३ प्रतिशतले बढाएको छ भने फलाम तथा स्टिलजन्य उत्पादनको आयातमा १७.१ प्रतिशतले कमी आएको छ । अर्कोतर्फ, अमेरिकाबाट हुने आयात अक्टोबरमा २०.९ प्रतिशतले बढेको छ, जसमा मुख्यतया पेट्रोलियम पदार्थ र खाद्यान्न (अन्न) रहेका छन् । तर, जापानबाट अमेरिकातर्फ जाने कम्प्युटरका पार्टपुर्जा, मेसिनरी तथा बस र ट्रकहरूको निर्यातमा भने गिरावट आएको छ ।
एसियाली बजारमा फड्को
जापानले छिमेकी मुलुकहरूमा आफ्नो निर्यात बढाएको छ। चीनतर्फको निर्यात गत वर्षको तुलनामा २.१ प्रतिशतले बढेको छ । हङकङतर्फको निर्यातमा १९.२ प्रतिशत र ताइवानतर्फको निर्यातमा १७.७ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ ।
फलस्वरूप, जापानले आफ्नो व्यापार घाटालाई साँघुरो बनाउन सफल भएको छ । अक्टोबरमा जापानको व्यापार घाटा २ खर्ब ३१ अर्ब ७७ करोड येन (करिब १.५ अर्ब डलर) मा झरेको छ, जुन गत वर्षको सोही अवधिमा ४ खर्ब ९९ अर्ब ९५ करोड येन थियो ।
चीनसँगको सम्बन्धमा चिसोपन
व्यापारिक तथ्यांक सकारात्मक देखिए पनि चीनसँगको व्यापारमा नयाँ चुनौतीहरू थपिएका छन् । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानको विषयमा दिएको अभिव्यक्तिले चीन चिढिएको छ । यसको प्रतिक्रियास्वरूप बेइजिङले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न सुझाव (ट्राभल एड्भाइजरी) जारी गरेको छ ।








