समाचार सुन्नुहोस :
काठमाडौँ – चलचित्र ‘परान’ले प्रदर्शन सुरु भएको केही दिनमै शानदार व्यापार गरेको छ। कात्तिक १४ गतेदेखि हलमा आएको यो फिल्मले शनिबारसम्म ९ करोड ८६ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको चलचित्र विकास बोर्डले जनाएको छ। फिल्मको लेखन र निर्देशन दीपक आचार्यले गरेका हुन्। नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, प्रवीण खतिवडा र अञ्जना बराइलीलगायत कलाकारहरूको अभिनय यसमा छ।
असोज ३१ गते रिलिज भएको “‘जेरी अन टप’’ले यो बर्ष सबैभन्दा धेरै व्यापार गर्दै १२ करोड ७ लाख रुपैयाँ कमाइ गरेको बोर्डको तथ्यांकमा उल्लेख छ। अनमोल केसी, केदार घिमिरे, आँचल शर्मा र जसिता गुरुङ यस फिल्मका मुख्य कलाकार हुन्। कात्तिक २१ गते सार्वजनिक भएको “‘जारी–२”ले पनि राम्रो व्यवसाय गर्दै ४ करोड ९२ लाख रुपैयाँ कमाइ गरेको छ। दयाहाङ राई, मिरुना मगर र विजय बराल फिल्मका प्रमुख कलाकार हुन्।
यस्तै, ‘जारी–२’सँगै प्रदर्शनमा आएको “मन बिनाको धन”ले २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्शन गरेको छ। टंक बुढाथोकीको निर्देशनमा बनेको यो फिल्ममा अशोक दर्जी मुख्य भूमिकामा छन्।








