Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – हालै गायिका ज्योती मगरले सामाजिक सञ्जालमा चलचित्र क्षेत्रमा कार्यरत कलाकारमाथि व्यङ्ग्य गरेकी थिइन्। उनले फेसबुकमा लेखेकी थिइन्, ‘आम नेपालीले सिटामोल खान पाएका छैनन्, बालबालिकाले राम्रो शिक्षा पाएका छैनन्, तर हाम्रा हिरोइनलाई सुसु गर्न सजिलो हुने भ्यानिटी भ्यान चाहिएको छ। माफ पाऊँ है, सरकारसँगको माग पनि आफ्नै स्तरको हुनुपर्छ। हामीलाई शिक्षा, स्वास्थ्य र गाँस–वास–कपास चाहिन्छ, सेलिब्रिटीलाई वाइफाइ, सोसल मिडिया र भ्यानिटी भ्यान।’

उनको यो टिप्पणीलाई धेरैले अभिनेत्री निती शाहमाथि लक्षित ठाने, जसपछि शाहमाथि सामाजिक सञ्जालमा ट्रोल र आलोचना बढ्यो। यसैबारे निती शाहले शनिबार फेसबुकमार्फत स्पष्टीकरण दिँदै आफ्नो भनाइ तोडमोड गरिएको बताइन्। उनले लेखेकी छन्, ‘हालै मेरो भनाइलाई गलत रूपमा बुझिएको छ, त्यसैले म केही कुरा स्पष्ट गर्न चाहन्छु।’ उनले थप लेखेकी छन्, ‘केहीले भन्नुभयो कि मैले बोल्ने विषय त्यहाँको लागि उपयुक्त थिएन, तर म स्पष्ट भन्न चाहन्छु, त्यो नै सही समय र ठाउँ थियो। हामीलाई उद्योगका समस्या र सुधारका विषयमा बोल्न बोलाइएको थियो, र मैले त्यसैबारे बोलेँ।’

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले उनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको छलफलमा बोलाएका थिए। जहाँ चलचित्र क्षेत्रका समस्या र सुधारबारे कुरा भएको थियो। शाहका भनाइमा, ‘त्यो नै उचित समय र ठाउँ थियो। मैले महिला कलाकारले छायांकनका क्रममा भोग्ने समस्या बारे मात्र कुरा गरेकी थिएँ।’ उनले आफ्नो अनुभव बाँड्दै लेखेकी छन्, ‘काठमाडौं बाहिर छायांकनका क्रममा भ्यानिटी भ्यान नहुँदा बसभित्रै कपडा फेर्नुपर्‍यो। यही हाम्रो वास्तविक अवस्था हो।’ शाहले मन्त्री जगदीश खरेलसँग महिला कलाकारका लागि भ्यानिटी भ्यान वा आधारभूत सुविधा निर्माणमा सहयोगको सुझाव दिएकी थिइन्। उनले भनिन्, ‘सफा शौचालय र सुरक्षित रूपमा कपडा फेर्ने स्थान कुनै विलासिता होइन, यो आधारभूत आवश्यकता हो।’

हाल सामाजिक सञ्जालमा यस विषयमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। धेरैले ज्योती मगरको व्यङ्ग्यलाई समर्थन गरेका छन् भने थोरैले निती शाहको तर्कको पक्षमा प्रतिक्रिया जनाएका छन्।

 

 

तपाईको प्रतिक्रिया