काठमाडौँ । लामो समयदेखि राजनीतिक हस्तक्षेप र अस्थिर नेतृत्वका कारण चर्चामा रहेको नेपाल वायुसेवा निगमले अब नयाँ दिशा लिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमको महाप्रबन्धक पदका लागि खुल्ला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार चयन गर्ने निर्णय गरेको छ । यो कदमलाई निगमको व्यावसायिकता र दक्षता अभिवृद्धिका लागि महत्वपूर्ण मानिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा एक उच्चस्तरीय समिति गठनको निर्णय गरेकी छिन् । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित यस समितिले खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धकका लागि उपयुक्त व्यक्ति छनोट गरी सिफारिस गर्नेछ।
समितिमा क्याप्टेन कुलबहादुर लिम्बूलाई विज्ञ सदस्यका रूपमा चयन गरिएको छ। मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको जिम्मेवारी सम्हाल्नेछन्। समितिलाई एक महिनाभित्रै खुल्ला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न समयसीमा तोकिएको छ।
नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमका वरिष्ठतम कर्मचारी एवं उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसैगरी, निगमको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष विक्रम राईले गर्ने मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन्।
यो निर्णयले नेपाल वायुसेवा निगममा दशकौँदेखि जरा गाडेको राजनीतिक नियुक्तिको प्रचलनलाई तोडेको छ। खुल्ला प्रतिस्पर्धाले योग्य, दक्ष र व्यावसायिक नेतृत्व आउने अपेक्षा गरिएको छ, जसले निगमको वित्तीय अवस्था सुधार गर्न र अन्तर्राष्ट्रिय बजारमा यसको प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत पुग्नेछ।
विज्ञहरूले यस कदमको स्वागत गर्दै यसलाई निगमको पुनरुत्थानका लागि सकारात्मक संकेतका रूपमा लिएका छन् । आगामी दिनमा नयाँ महाप्रबन्धकले निगमलाई कसरी नयाँ उचाइमा पुर्याउनेछन्, त्यो हेर्न बाँकी नै छ ।








