समाचार सुन्नुहोस :
काठमाडौँ – अभिनेता दीपकराज गिरीले २४ भदौको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा आफू संलग्न नरहेको दाबी गरेका छन्। आन्दोलनका बेला खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि आलोचना बढेपछि उनले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
गिरीले लेखेका छन्, “नेपालका हरेक परिवर्तनका आन्दोलनलाई समर्थन गरेझैं यसलाई पनि समर्थन गरेको हुँ। यदि त्यो अपराध हो भने अपराध त भयो नै।” उनले आफू दोषी ठहरिए कानूनी सजाय भोग्न तयार रहेको बताएका छन्।
उनका अनुसार फोटो खिचिएको स्थानमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीको बोलाहटमा बानेश्वरतर्फ जाँदै गर्दा पुगेका थिए। “त्यो घर बाटोमै परेको थियो। केही केटाहरूले तोडफोड भइसकेको घर हेर्दै थिए। उनीहरूले हात हल्लाए, मैले फोटो खिचे, त्यति मात्र हो,” गिरीले स्पष्ट पारे।
गिरीले आफू तोडफोड र आगजनीको विरोधी भएको दाबी गर्दै भने, “हामीले ‘तोडफोड नगरौँ’ भन्ने भिडियोसमेत बनाएका थियौँ।” उनले आन्दोलन र आगजनी फरक कुरा भएको बताउँदै त्यसमा विभिन्न स्वार्थ समूह घुसेको आरोप लगाए। “यदि मेरो संलग्नता प्रमाणित हुन्छ भने हदैसम्मको कारबाहीको लागि तयार छु,” उनले भने।








