टोकियो – ओसाकामा जारी विश्व प्रदर्शनी (वर्ल्ड एक्स्पो) मा आइतबारसम्म कुल २ करोड २२ लाख आगन्तुकहरूले सहभागिता जनाएका छन् । आयोजकका अनुसार यो संख्या जापानमा यसअघि आयोजित एक्स्पोको कुल आगन्तुक संख्यालाई उछिनेको हो ।
आगामी दुई हप्ताभित्र प्रदर्शनी समाप्त हुँदा कुल आगन्तुक संख्या २ करोड ५० लाख नाघ्ने अनुमान गरिएको छ । जापान एसोसिएसन फर द २०२५ वर्ल्ड एक्स्पोका अनुसार सेप्टेम्बर १९ सम्म २ करोड १८ लाख ६० हजार टिकट बिक्री भइसकेको छ, जसले सञ्चालन खर्चको लागि तोकिएको १ करोड ८० लाखको लक्ष्यलाई पार गरेको छ ।
यद्यपि, अक्टोबर १३ मा प्रदर्शनी सकिनुअघि २ करोड ३० लाख टिकट बिक्रीको लक्ष्य हासिल हुनेमा भने अनिश्चितता देखिएको छ । किनकि, टिकट बिक्री मंगलबार समाप्त हुँदैछ र अन्तिम दिनसम्मका धेरैजसो भ्रमण समयहरू लगभग पूर्ण रूपमा बुक भइसकेका छन् ।
सेप्टेम्बर १२ यता हरेक दिन २ लाखभन्दा बढी आगन्तुकहरू एक्स्पोमा आइरहेका छन्। यसले गर्दा कुल आगन्तुक संख्या २ करोड ५० लाखभन्दा बढी पुग्न सक्ने भए पनि आयोजकले सुरुमा प्रक्षेपण गरेको २ करोड ८२ लाखको लक्ष्य भने पूरा नहुने अनुमान गरिएको छ ।
सोमबार पानी परिरहेको भए पनि एक्स्पो स्थल आगन्तुकहरूको भीडले खचाखच भरिएको थियो । ह्योगो प्रान्तको ओनोबाट आएका एक आगन्तुकले आफ्नो दिउँसोको स्लटको रिजर्भेसन भए पनि बिहानै पश्चिम गेटअगाडि लाइनमा बसेका थिए । ‘म अगस्टमा पहिलो पटक आएको थिएँ, तर अझ धेरै हेर्न मन लागेर आज फेरि आएको हुँ,’ ५९ वर्षीय ती व्यक्तिले भने, “कास! यो कार्यक्रम लम्बिएको भए ।’
सामाजिक सञ्जालमा पनि कार्यक्रमको अवधि बढाउनुपर्ने मागसहितका यस्तै टिप्पणीहरू आइरहेका छन् । तर, विश्व प्रदर्शनीसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले यसको अवधि ६ महिनामा सीमित गरेको छ ।
प्रदर्शनी सुरु हुनुअघि मार्चमा गरिएको एक सर्वेक्षणमा ७४.८ प्रतिशत उत्तरदाताहरूले एक्स्पोमा जान नचाहेको बताएका थिए । यद्यपि, आगन्तुकहरूको संख्याले यसको विपरीत नतिजा देखाएको छ । लागत वृद्धि, निर्माण समस्या र धेरै देशहरूको सहभागिता फिर्तालगायतका कारणले सुरुमा नकारात्मक जनमत बनेको थियो । तर, अप्रिलको मध्यमा एक्स्पो सुरु भएपछि सकारात्मक प्रतिक्रिया र मुख-मुखको प्रचारले टिकट बिक्रीमा क्रमशः सुधार आएको हो ।








