समाचार सुन्नुहोस :
काठमाडौँ – जेनजी आन्दोलनपछि अभिनेता राजेश हमाल अहिले अष्ट्रेलिया भ्रमणमा व्यस्त छन्। उनको भ्रमणको मुख्य उद्देश्य टिभी शो ‘यो नेपाली शीर उचाली’ को दोस्रो सिजन छायांकन हो, जसको काम अष्ट्रेलियाका विभिन्न स्थानमा भइरहेको छ। यसबाहेक, उनले त्यहाँका नेपाली समुदायले आयोजना गरेका कार्यक्रममा पनि सहभागिता जनाइरहेका छन्। यता स्वदेशमा भने सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई अन्तरिम सरकारको परराष्ट्रमन्त्रीको रूपमा अघि सारेका छन्। ‘अबका परराष्ट्रमन्त्री राजेश हमाल’ भन्दै सोसल मिडियामा उनको नाम व्यापक रूपमा सेयर भइरहेको छ।
हमाल पूर्वराजदूत चुडाबहादुर हमालका छोरा हुन्। बाल्यकालदेखि नै बुवाको कामका कारण उनले कूटनीतिक अभ्यास नजिकबाट नियाल्ने अवसर पाएका थिए। समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा उनको चासो देखिने गरेको छ। अन्तर्वार्तामा उनले यसबारे विचार राख्ने गरेका छन्। साथै, राजनीतिमा आउन सक्ने संकेत पनि उनले पटक–पटक दिएका छन्।
यस्तो अवस्थामा उनको नाम मन्त्रीको रूपमा चर्चामा आएपछि सिड्नीमा रहेका हमालसँग समुद्रपारि डट कमले प्रतिक्रिया लिएको थियो। त्यहाँ उनले घुमाउरो ढंगले मन्त्री बन्ने इच्छा देखाएनन्। उनले भने, ‘लामो यात्रा पार गर्नुछ, यो चुनावी सरकार हो। म मन्त्रीतिर बन्नेतिर लाग्दिन। अहिले काममै ब्यस्त छु।’ उनले हाँस्दै यसको जवाफ दिएका छन् ।
हमाल आगामी असोज १४ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।








