टोकियो – जापानलाई कर्मथलो बनाइरहेका सर्जक/गायक रामशरण रसाइलीले सुनिता थेगिमसँगको सहकार्यमा नयाँ गीत ‘नेपालै सरर…’ सार्वजनिक गरेका छन् । ब्ल्याक बी पिक्चरमार्फत सार्वजनिक भएको गीतले परदेशी जीवनको यथार्थ, यसका पीडा र स्वदेश फर्कने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
रामशरण रसाइलीको शब्द र संगीतमा तयार पारिएको यस गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । गल बन्दी प्रोडक्सनको प्रस्तुतिमा सुनिल बिकको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा देवन्द्र बाबु, मिस पबि र कमला रेग्मीको जीवन्त अभिनय रहेको छ ।
गीतको भिडियोमा कलाकार देवन्द्र बाबु विदेशमा कठिन श्रम गर्दै गरेको देखिन्छन् । कहिले चर्को घाममा त कहिले झरीमा पसिना बगाउँदै, परिवारको सुखको लागि परदेशमा ठूला सपना बोकेर काम गरिरहेको दृश्यले जापान लगायत अन्य देशमा रहेका लाखौं नेपाली युवाहरूको भोगाइलाई प्रतिविम्बित गर्छ । निन्द्रामा समेत पैसाको नोट देख्ने उनको सपनाले विदेशमा धन कमाउने तीव्र चाहनालाई देखाउँछ ।
यता नेपालमा रहेकी उनकी पत्नी मिस पबि र आमा कमला रेग्मीले उनको पर्खाइमा दिनहरू बिताइरहेका छन् । घरको कामधन्दा, घाँसदाउराको जोहो र एक्लो जीवनको पीडा उनीहरूको अनुहारमा झल्किन्छ । बिरामी पर्दा साथ दिने कोही नहुने, मनका कुरा गर्ने मान्छे नहुने जस्ता भावनात्मक पक्षले दर्शकको मन छुन्छ । पत्नीले धनभन्दा पनि पतिको साथ महत्वपूर्ण भएको सन्देश दिँदै, ‘जति भनी धनको बिटो, मर्दा कसले लान्छ र’ भन्दै परदेशमा गएकालाई स्वदेश फर्कन आग्रह गर्छिन् ।
भिडियोमा देवन्द्र बाबु आफ्नै देश फर्किएर परिवारसँग पुनर्मिलन भएको देखाइएको छ । यसले स्वदेशमा सानो काम गरेर भए पनि परिवारसँग खुसीसाथ बस्नु नै वास्तविक धन हो भन्ने सन्देश दिएको छ । सुनिल बिकको उत्कृष्ट निर्देशन र कलाकारहरूको जीवन्त अभिनयले गीतलाई अझै प्रभावकारी बनाएको छ ।
‘नेपालै सरर…’ परदेशको यथार्थ, पारिवारिक वियोग र स्वदेशको मायाको एक सुन्दर मिश्रण हो । गीतलाई धेरै दर्शक/स्रोताले मन पराउने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् भिडियो :-








