टोकियो – जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सडक नियम उल्लंघन गर्ने साइकल चालकहरूका लागि नयाँ जरिवाना र दण्डसहितको नियम पुस्तिका जारी गरेको छ । यो आगामी अप्रिलमा लागू हुने संशोधित सडक ट्राफिक कानूनको तयारी स्वरूप गरिएको कडा कारबाहीको अंश हो ।
सन् २०२६ अप्रिल १ देखि, १६ वर्ष वा सोभन्दा माथिका साइकल चालकहरूलाई दुर्घटना निम्त्याउन सक्ने मोबाइल फोन प्रयोगजस्ता कसुरका लागि तत्काल ‘ब्लू टिकट’ जारी गरिनेछ । ब्लू टिकट पाउनेहरूले समयमै जरिवाना तिरेमा मुद्दाबाट बच्न सक्नेछन् ।
सेप्टेम्बर ४ मा जारी गरिएको नियम पुस्तिकाले कम गम्भीर उल्लङ्घनहरू, जस्तै फुटपाथमा गैरकानूनी रूपमा साइकल चलाउनु, छाता ओढेर साइकल चलाउनु वा राती बत्ती नबाल्नुजस्ता कार्यहरूमा प्रहरीले हालको चेतावनी दिने नीतिलाई नै निरन्तरता दिने स्पष्ट पारेको छ । तर, यदि कसैले अरूलाई खतरामा पारेको ठहरिएमा भने जरिवाना लाग्नेछ ।
फुटपाथमा साइकल चलाउने सम्बन्धमा स्पष्टीकरण सरकारले जनमत सङ्कलन गरेपछि आएको हो, जहाँ सुरुमा ६,००० येन जरिवाना लगाउने योजनामा धेरैजसो नकारात्मक प्रतिक्रियाहरू प्राप्त भएका थिए ।
मोबाइल फोन चलाएर साइकल चलाएको, बन्द रेलमार्ग क्रसिङमा प्रवेश गरेको वा ब्रेक नभएको साइकल चलाएको जस्ता अवस्थामा ब्लू टिकट जारी गरिनेछ । यी उल्लङ्घनहरूमा क्रमशः १२,००० येन, ७,००० येन र ५,००० येन जरिवाना लाग्नेछ ।
यसैबीच, मादक पदार्थ सेवन गरी साइकल चलाएको जस्ता गम्भीर उल्लङ्घनहरूमा भने हालको ‘रातो ट्राफिक टिकट’ नै जारी रहनेछ, जसमा फौजदारी सजायको प्रावधान छ ।








