Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – नेपाली रजतपटमा यतिबेला चर्चाको शिखरमा रहेको र बक्सअफिसमा धमाकेदार व्यापार गरिरहेको चलचित्र ‘मोहर’ अब जापानका दर्शकमाझ आउने भएको छ । सामाजिक कथावस्तुमा आधारित यो सशक्त फिल्म सेप्टेम्बर २ तारिख (मंगलबार) बाट टोकियोमा भव्य प्रदर्शनका साथ जापान यात्राको सुरुवात गर्नेछ । आयोजक समितिका संयोजक ईश्वर श्रेष्ठका अनुसार जापानभर कुल १४ वटा शो आयोजना गरिनेछ ।

सेप्टेम्बर २ तारिख मंगलबार साँझ ६ बजे नाकानो जिरो हलमा टोकियो शोको उद्घाटन हुनेछ । यसबाहेक, सेप्टेम्बर ६ मा फुकुओकामा पनि विशेष शोको आयोजना गरिनेछ । जापानका अन्य प्रमुख शहरहरूमा पनि शोहरूको तालिका चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ । जापानमा रहेका नेपाली दर्शकहरूले आफ्नो माटोको कथा, परम्परा र सामाजिक न्यायको मुद्दालाई नजिकबाट नियाल्ने यो सुनौलो अवसरलाई गुमाउन नहुने आयोजकको भनाइ छ ।

जापानभरका शोहरूका लागि टिकट तथा अन्य जानकारीका लागि इच्छुक दर्शकले आयोजक समितिका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सक्नेछन् । टोकियो शोका लागि 080 3406 5636 (ईश्वर श्रेष्ठ), 080 4473 6183 (बसन्त थापा) र 070-3249-8464 (शाही वीरेन्द्र) मा सम्पर्क गर्न सकिनेछ ।

नेपालमा प्रदर्शनमा आएदेखि नै ‘मोहर’ ले दर्शक र समीक्षक दुवैको मन जित्न सफल भएको छ । प्रदर्शनको पहिलो हप्तामै लगानी सुरक्षित गरेको दाबी गरिएको फिल्मले चौथो हप्तामा चलिरहँदा ५ करोड ४२ लाख ग्रस कलेक्सन गरिसकेको छ, जुन यसको लोकप्रियताको स्पष्ट प्रमाण हो।  दर्शकहरूको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ ले फिल्मलाई थप उचाइमा पुर्‍याएको छ । विशेषगरी, फिल्म हेरेर हलबाट रुँदै निस्किएका दर्शकका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

देउकी प्रथाविरुद्धको मार्मिक कथा
फिल्म ‘मोहर’ को कथा पश्चिमी नेपालको एउटा गाउँबाट सुरु हुन्छ, जहाँ सरकार चन्द (अर्जुन जङ्ग शाही) नामक एक शक्तिशाली र क्रूर व्यक्तिको दबदबा छ । यसै गाउँमा प्रहरी इन्स्पेक्टर सिवल (पल शाह) र सिन्दुरी (नीति शाह) बीच प्रेम मौलाउँछ । तर, सिवल तालिमका लागि काठमाडौं गएको मौका पारेर सरकारकी आमा महारानी (लक्ष्मी गिरी) ले सिन्दुरीको बुबालाई पैसाको लोभ देखाई सिन्दुरीको विवाह सरकारसँग गराइदिन्छिन् ।

कथाले तब थप नाटकीय मोड लिन्छ जब महारानीको भाकलअनुसार, छोरा जन्मिए राज गर्नेछ र छोरी जन्मिए देउकी बनाएर मन्दिरमा चढाइनेछ भनिन्छ। दुर्भाग्यवश, सिन्दुरीले छोरी जन्माउँछिन् । अब सिवल गाउँ फर्किएर यो अन्यायको अन्त्य गर्न सक्लान्? के ती नाबालक छोरी देउकी बन्नबाट जोगिएलिन्? यही प्रश्नहरूको वरिपरि फिल्मको मार्मिक कथा घुमेको छ । देउकी प्रथाजस्तो संवेदनशील र गम्भीर सामाजिक विषयलाई कथाको केन्द्रमा राख्नु फिल्मको सबैभन्दा साहसिक र सबल पक्ष मानिएको छ ।

‘मोहर’ मा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीको अभिनय फिल्मको मेरुदण्डको रूपमा रहेको छ । उनको महारानीको भूमिकाले दर्शकमा गहिरो छाप छोड्छ। पल शाह र अर्जुनजंग शाहीले पनि आफ्नो भूमिकालाई न्याय दिने प्रयास गरेका छन् । फिल्मको सिनेमाटोग्राफीमा गरिएको मिहिनेत प्रस्ट देखिन्छ, जसले दृश्यहरूलाई अझ प्रभावशाली बनाएको छ । फिल्ममा प्रयोग गरिएको उत्कृष्ट भाषा/शैली र भावनात्मक दृश्यहरूले दर्शकको मन छुन्छ ।

तपाईको प्रतिक्रिया