समाचार सुन्नुहोस :
काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आइतबारदेखि काठमाडौंमा सत्याग्रह सुरु गर्ने भएका छन्। सरकारले निजी मेडिकल कलेजमा सिटसंख्या बढाएको, प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्त गरेको र चिकित्सा शिक्षाको शुल्क बढाउने तयारी गरेको भन्दै उनले सत्याग्रह घोषणा गरेका हुन्।
यसअघि नै सत्याग्रहको तयारी गरे पनि स्वास्थ्यमा समस्या आएपछि उनले मिति सारेका थिए। तर अब उनले आइतबार दिउँसोबाट सत्याग्रह थाल्ने स्पष्ट गरेका छन्। उनका अनुसार निजी मेडिकल कलेजको सिट वृद्धि नै सबैभन्दा घातक कदम हो। ‘सरकारले शिक्षा र स्वास्थ्य दुबै क्षेत्रमा राजनीतिक भागबन्डा गरेको छ। निजी माफियालाई फाइदा पुर्याउने काम भइरहेको छ। अब यसको विरुद्ध सत्याग्रह सुरु गर्छु,’ उनले भने।
सरकारले २९ साउनमा निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसका लागि १,३५९ सिट थपेको थियो। तर सरकारी मेडिकल संस्थानमा भने सिट बढाइएको थिएन। प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष पहलमै यो निर्णय गरिएको आरोप छ। सरकारको उक्त कदमविरुद्ध चिकित्सा अभियन्ता, आवासीय चिकित्सक र शिक्षाविद्हरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। डा. केसीले भने यसै विषयलाई मुख्य मुद्दा बनाउँदै सत्याग्रह सुरु गर्न लागेका हुन्।








