समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेका अनुसार, चीन भ्रमणमा प्रस्थान गर्नु अघि प्रधानमन्त्री ओलीले उक्त भ्रमणबारे सदनलाई जानकारी दिनेछन्। प्रधानमन्त्री ओली भोलि (शनिबार) चीन जाँदैछन्।
यसैबीच, आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी राष्ट्रिय सभाबाट आएको सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ। त्यस्तै, सभामुख घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची पनि पेश गर्नेछन्।
व्यवस्थापन कार्य अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफल गर्न प्रस्ताव गर्नेछन्। साथै, सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।








