समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिका र कवाड व्यवसायीबीचको विवाद राजनीतिक रंगसहित अझै पनि समाधान हुन सकेको छैन। अघिल्लो वर्ष असारमा संसदमा बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कवाड व्यवसायीलाई ‘कवाड बालेनको घरमा फाल्नुस्’ भन्दै उक्साएका थिए। उनले मेयर बालेन्द्र साहलाई ‘हिटलर बन्न खोजेको’ आरोप लगाएका थिए। त्यसपछि गत माघमा आम जनता पार्टीका अध्यक्ष सांसद प्रभु साहले पनि महानगरलाई ‘गुन्डागर्दी गरेको’ आरोप लगाएका थिए।
राजनीतिक संरक्षणकै कारण यो विवाद अझ चर्किएको व्यवसायीहरू बताउँछन्। उनीहरूले महानगरले आफूहरूलाई जबर्जस्ती हटाउन खोजेको भन्दै विरोध प्रदर्शन जारी राखेका छन्। संघर्ष समितिका संयोजक राम केवल गुप्ताले कवाड व्यवसाय हटाएर महानगरलाई आर्थिक लाभ दिने योजनाका कारण दमन भएको दाबी गरेका छन्।
काठमाडौंमा करिब तीन हजार कवाड संकलन केन्द्र छन्। व्यवसायीहरूले आफ्नो पेसा संविधानले ग्यारेन्टी गरेको भन्दै पाँच बुँदे मागसहित आन्दोलन गरिरहेका छन्। उनीहरूको मुख्य मागमा महानगरबाट भइरहेको कुटपिट, अपहरण र संरचना भत्काउने कार्य रोक्ने, संलग्न महानगर प्रहरीलाई कारबाही गर्ने र व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने समावेश छ।
काठमाडौं महानगरले भने स्थानीयको गुनासो र वातावरणीय कारणले कदम चालिएको जनाएको छ। तर, कवाड विवादलाई लिएर मेयर बालेनलाई राजनीतिक घेराबन्दीमा पार्ने प्रयास भइरहेको विश्लेषण पनि भइरहेको छ।








