समाचार सुन्नुहोस :
काठमाडौँ – सर्वोच्च अदालतले नग्नतालाई मात्र अश्लीलता मान्न नपाइने स्पष्ट व्याख्या गरेको छ। न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको इजलासले पशुपतिमा शिवरात्रिका अवसरमा आउने नागा बाबाहरूको नग्न बसाइ धार्मिक परम्परा र आस्थासँग जोडिएको भन्दै दायर रिट खारेज गरेको हो।
अधिवक्ता यज्ञमणि न्यौपानेले २०७४ माघमा दायर गरेको रिटमा नागा बाबाको ‘चर्तिकला’ महिलामाथि यौनहिंसाको जोखिम बढाउने भन्दै रोक लगाउन माग गरेका थिए। तर सर्वोच्चले २०८१ भदौमा रिट खारेज गर्दै नग्नता र अश्लीलता अलग हुने प्रष्ट्याएको छ। अदालतले नग्नतालाई वस्त्रविहीन शारीरिक अवस्था भनेको छ भने अश्लीलतालाई सामाजिक मान्यता विपरीत यौनिक उत्तेजना जगाउने क्रियाकलापका रूपमा व्याख्या गरेको छ।
फैसलामा कला, संस्कृति, शिक्षा वा उपचारका उद्देश्यले नग्नता देखाउनु अश्लील नहुने उल्लेख गरिएको छ। प्राचीन मूर्ति वा चित्रलाई पनि अश्लील भन्न नमिल्ने सर्वोच्चको भनाइ छ। अदालतले धर्मशास्त्रको उल्लेख गर्दै नागा बाबाको निर्वस्त्र अभ्यास वैदिक परम्परा र धार्मिक पहिचानसँग सम्बन्धित भएको ठहर गरेको छ।
फैसलामा भनिएको छ, “नागा साधुहरू नांगै बस्नु भक्तजनलाई यौनिक रूपमा दिग्भ्रमित बनाउन वा अशोभनीय उद्देश्यले नभई धार्मिक साधनाको अंगका रूपमा हो।” त्यसैले उनीहरूको गतिविधिलाई अश्लीलता नभई धार्मिक अभ्यास मान्नुपर्ने सर्वोच्चको निष्कर्ष छ।








